राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २६ माघ, २०८१
२५ माघ, काठमाडौं । पाँच करोड मूल्यको टल्किने ढुंगा दिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पर्वत फलेवास नगरपालिका ५ घर भई हाल पोखरा महानगरपालिका १७ छोरेपाटन बस्ने ३१ वर्षकी ईन्दिरा विक, सोही ठाउँका ३६ वर्षीय राजन विक र खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ की २७ वर्षकी जुनु भन्ने लक्ष्मी राईलाई पोखराको लेकसाइडबाट पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकृत प्रहरी निरीक्षक अविनाश दिप जिसीले बताए ।
उनीहरुले ५ करोड मूल्य पर्ने टल्किने ढुंगा दिने प्रलोभनमा पारेर १३ लाख रुपैयाँ ठगी गरेको भन्दै कुन्ती सुब्बा गुरुङले जाहेरी दिएकी थिइन् । प्रहरीले ईन्दिरा विक र राजन विकको कोठाबाट सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान र रातो रङको ढुङ्गा १ थान बरामद गरेको छ ।
विभिन्न बैंकका ३१ लाख बराबरका ४ थान चेक र मोबाइल ४ थान समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।