राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ आश्विन, २०८२
२०८२ असोज २२, काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दामा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनालाई प्रतिवादी बनाइएको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा करिब ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाको अडियो सार्वजनिक भएको थियो। त्यसपछि अख्तियारले पूर्वमन्त्रीसहित बिचौलियाको बयान लिएको थियो ।
घूस डिलको अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । उनले म्यासेज गरेरै ‘मलाई क्यास चाहियो, ड्राइभर पठाइदिन्छु’ भनेका विवरण अख्तियारमा पेश भएका थिए । त्यतिमात्रै नभएर भूमि मन्त्रालयका तत्कालिन सचिव अर्जुन पोखरेलले समेत रकम लिएका विवरण सार्वजनिक भएका थिए ।
गुप्ता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री र श्रेष्ठ प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री थिइन् ।