राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ असार, २०८२
२६ असार २०८२, खोटाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा अधिकारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसहित ९ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालय, खोटाङबाट विभिन्न विषयमा प्राप्त अनुदान रकम हिनामिना गरेको आरोप छ । चापागाईं सहित तत्कालीन शिक्षा अधिकारी गणेशप्रसाद भट्टराई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य, तत्कालीन प्रधानाध्यापक हेम्बर बस्नेत, तत्कालीन सवइन्जिनियर शिवराज राई, तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठ, तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू दिलीपकुमार राई, चर्चबहादुर विश्वकर्मा, भवन निर्माण गर्ने व्यक्ति बबेन्द्र राई समेतलाई विपक्षी बनाएर आरोपत्र दर्ता गरेको छ ।
उनीहरूमध्ये बालकृष्ण चापागाईंलाई १० लाख, गणेशप्रसाद भट्टराईलाई १४ लाख, भुवनप्रसाद आचार्यलाई १५ लाख, सुरेशकुमार श्रेष्ठलाई दुई लाख ८० हजार, शिवराज राईलाई २४ लाख, हेम्बर बस्नेतलाई ३० लाख ५० हजार, दिलीपकुमार राईलाई ३० लाख ५० हजार, चर्चबहादुर विश्वकर्मालाई २४ लाख र बबेन्द्र राईलाई ७ लाख बिगो असुलउपर हुने गरी आरोपपत्र दर्ता गरिएको आयोगका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए ।
अख्तियारका अनुसार झुटा बिल, कम गुणस्तरको सामग्री प्रयोग, सम्झौता विपरीत रकम निकासा जस्ता अनियमितता भएकोले आरोपपत्र विशेष अदालत काठमाडौंमा दर्ता गरिएको हो ।