मंगलवार, २८ आश्विन, २०८२

रोजगारी दिलाइदिन्छु भन्दै युवायुवतीलाई ठगी गर्ने ८ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ श्रावण, २०८२

रोजगारी दिलाइदिन्छु भन्दै युवायुवतीलाई ठगी गर्ने ८ जना पक्राउ

६ साउन २०८२, सुर्खेत । रोजगारी दिलाइदिन्छु भन्दै युवायुवतीलाई ठगी गर्ने गिरोह पक्राउ परेको छ । वीरेन्द्रनगर-३ स्थित स्काई ड्रिम इन्टरप्रेनर्स र ग्लोबल ओरियन्स नेपाल नामक कम्पनीमार्फत वार्षिक २० हजार असुली युवालाई नेटवर्किङमा संलग्न गराई प्रति सदस्य ५० हजारदेखि २ लाख ६० हजारसम्म असुली करोडौँ ठगी गर्ने गिरोह पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ती कम्पनीहरूले विभिन्न जिल्लाका बेरोजगार युवायुवतीलाई राम्रो तलबसहितको रोजगारी दिने भन्दै वार्षिक २० हजार रुपैयाँ असुली खाना, बस्न र कोठा व्यवस्था गर्दै नेटवर्किङ मार्केटिङमा संलग्न गराउने गर्थे ।

त्यसै माध्यमबाट नयाँ सदस्यहरूलाई जोड्न लगाई प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म रकम असुली करोडौँ रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले कम्पनी सञ्चालक र कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमा डोटी सायल गाउँपालिका-२ का २६ वर्षीय नरेश बोहोरा, दार्चुला महाकाली गाउँपालिका-४ का २४ वर्षीय कृष्ण धामी, अछाम कमलबजार नगरपालिका-६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रवीन्द्र शाही, कञ्चनपुर महाकाली नगरपालिका-२ की २२ वर्षीया मनीषा सिंह, बेल्डाडी गाउँपालिका-१ की २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका-६ की २२ वर्षीया सुनिता साउद, र डोटी बडिकेदार गाउँपालिका-४ की २२ वर्षीया कमला चिमाला छन् ।

ठगीको उजुरीपछि प्रहरीले आवश्यक अनुसन्धान थालेको छ । आरोप पुष्टि भएमा उनीहरूलाई कानूनबमोजिम कडा कारबाही गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

advertisement_1676553851.gif