राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ श्रावण, २०८३
२०८३ साउन ०७, सिरहा । सिरहाको लहानमा लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाएर ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले लहानस्थित अस्पताल चोकबाट ५ भारतीय र १ नेपाली गरी ६ जनालाई नियन्त्रणमा लिएको छ ।
बिहीबार दिउँसो लहान नगरपालिका–स्थित हस्पिटल चोकमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको विशेष टोलीले अपरेशन सञ्चालन गर्ने क्रममा प्रहरीको गोली चलेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक भारतीय र एक नेपाली नागरिकको खुट्टामा गोली लागेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
पक्राउ परेकाहरूको साथबाट २ सय २५ ग्राम खैरो हिरोइन र ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ । बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ ।