बिहीबार, २८ फाल्गुन, २०८२

सुरक्षा परिषद् बैठक :प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० फाल्गुन, २०८२

सुरक्षा परिषद् बैठक :प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा छलफल

२०८२ फागुन २०, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरक्षा परिषद्को बैठक बसेकाे छ । बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, आगामी निर्वाचन तयारी, र संभावित सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनसँग सम्बन्धित सुरक्षा व्यवस्थाहरूको समिक्षा गर्न आयोजित गरिएको थियो । यस अवसरमा निर्वाचन स्थलगत सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा, र आवश्यक सरकारी समन्वयबारे छलफल भएको थियो ।

बैठकमा सहभागी रहेका उच्च अधिकारीहरूमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल, र मुख्य सचिव सुमनराज अर्याल रहेका थिए ।

बैठकका क्रममा मन्त्री तथा वरिष्ठ सुरक्षाकर्मीहरूले निर्वाचनको दौरानमा शान्ति, सुव्यवस्था, र आम जनताको सुरक्षामा ध्यान दिनुपर्ने विषयमा जोड दिएका थिए । साथै, सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ गर्न आवश्यक कदमहरू उठाउने निर्णय पनि भएको जानकारी सचिवालयले दिएको छ ।

मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने विषयमा समेत सहमति भएको जनाइएको छ । त्यस्तै, राष्ट्रिय सुरक्षामा आउन सक्ने सम्भावित चुनौती, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा विकसित पछिल्ला घटनाक्रमको प्रभाव र त्यसअनुसार अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको छ।

परिषद्ले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निष्कर्ष निकाल्दै निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्ने विषयमा छलफल गरेको जनाएको छ ।

advertisement_1676998982.gif