राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ असार, २०८२
२६ असार २०८२, काठमाडौं । संघीय संसद् भवन बानेश्वरमा ड्रोन खसालेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बानेश्वरस्थित टेकस्पायर कलेजका प्राध्यापकसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्राध्यापक विजय बाबु रेग्मी, टेकस्पायर कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा छन् ।
असार २४ मा बिहान साढे ९ बजेतिर संसद् भवनमा खसेको अवस्थामा ड्रोन भेटिएको थियो । निषेधित क्षेत्रमा ड्रोन भेटिएपछि त्यसबारे संसद्मा कुरा उठेको थियो ।
टेकस्पायर कलेजले विद्यार्थीहरूलाई ड्रोन निर्माण गर्ने टास्क दिएको र सो ड्रोन परीक्षणको क्रममा संसद् भवनमा खसेको गत असार २३ मा राति विद्यार्थीहरूले परीक्षण गर्दा सिग्नल लस्ट भएर सो ड्रोन खसेको विद्यार्थीहरूले प्रहरीलाई बताएका छन् ।
घटनामा संलग्नहरूलाई कारबाही गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराएको छ ।