राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १५ फाल्गुन, २०८२
२०८२ फागुन १५, काठमाडौं । नेपाल प्रहरीले आगामी फागुन २१ गतेको निर्वाचनका लागि सात एआइजीलाई सात प्रदेशमा खटाइएको छ । प्रहरी प्रधानकार्यालयले निर्वाचन सुरक्षा चुस्त दुरुस्त बनाउनका लागि एआइजी खटाएको हो ।
कोशीमा राजन अधिकारी, गण्डकीमा मनोज केसी, मधेशमा डम्बर विक, कर्णालीमा सुशीलसिंह राठौर, सुदूरपश्चिममा हिमालय शमशेर श्रेष्ठ र बाग्मती उमा प्रसाद चर्तुवेदी खटाइएको छ । उनीहरुले निर्वाचन अवधिभर ती प्रदेशमा पुगेर चुनावी कमाण्ड सम्हाल्नेछन् । शान्ति सुरक्षा कायम गर्ने कही कतैबाट पनि सुरक्षामा कमी हुन नदिने गरी उनीहरुलाई जिम्मेवारीमा पठाइएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।
उपत्यकामा इश्वर कार्कीले कमाण्ड सम्हाली रहेका छन् । काठमाडौँ उपत्यकाको सुरक्षाका लागि पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)र १५ जना प्रहरी उपरीक्षक (एसपी) लाई खटाइएको छ । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमा तीन जना, ललितपुर र भक्तपुरमा एक एक जना एसएसपीलाई अनुगमनको जिम्मेवारी दिइएको हो। काठमाडौँका क्षेत्र नं १, २, ३ र ४ को जिम्मेवारी एसएसपी रमेशकुमार बस्नेतले पाएका छन् ।
हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखारीमा कार्यरत एसएसपी बस्नेत यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए । एसपी हुँदा काठमाडौँ परिसरमा रहेर काम गरेका बस्नेतलाई महत्वपुर्ण चार वटा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइएको छ ।
यस्तै काठमाडौँ क्षेत्र नं ५, ६ र ७ मा सोमेन्द्र सिंह राठौरले जिम्मेवारी पाएका छन् । राठौर पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमै कार्यरत छन् । क्षेत्र नं ८, ९ र १० को सुरक्षा अनुगमनको जिम्मेवारी एसएसपी नवराज अधिकारीले पाएका छन् । अधिकारी हाल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख हुन् ।
ललितपुर र भक्तपुरमा पनि एक एक जना एसएसपी अनुगमनमा खटिनेछन् । ललितपुरमा एसएसपी सन्तोष खड्का र भक्तपुरमा प्रविण धिताललाई जिम्मेवारी दिइएको छ। काठमाडौँमा एसएसपी रमेश थापा र ललितपुरमा एसएसपी होबिन्द्र बोगटी छन् । भक्तपुरमा एसपी सूर्यबहादुर खड्का प्रहरी प्रमुख छन् ।