राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ३० श्रावण, २०८२
२०८२ साउन २९, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ । विशेष अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो।
विशेष अदालतका अध्यक्ष न्यायधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको हो ।
उनीहरूलाई जनही ८ वर्षका दरले कैद तोकिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो।
उनीहरूलाई जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने ठहर भएको छ । यस्तै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला भएको छ । थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भनी २७ चैत ०८० मा र हानि–नोक्सानी गरेको अभियोगमा २९ जेठ ०८१ मा दुई मुद्दा दायर भएका थिए। मेयर थापाका साथै पोखरेल र पौडेलले ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नदीजन्य पदार्थको नोक्सानी गरेको ठहर भएकाे छ।
गत बुधबार विशेषले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा आंशिक ठहर तथा हानि–नोक्सानीमा कसुर कायमको फैसला गरेकोमा आज सजाय निर्धारण गरेको हो ।