राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ७ श्रावण, २०८२
६ साउन २०८२, काठमाडौँ । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, पक्राउ परेका दुवै जनाको साथबाट २ किलो सुन र २४ लाख नगद बरामद गरिएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार, चुनलिन थान डेढ महिनाअघि काठमाडौँ आएर ठमेलको होटलमा बसिरहेका थिए भने सुमेई चोउ केही दिनअघि मात्रै काठमाडौँ आएकी थिइन् ।
उनीहरू प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।