शुक्रबार, १९ असार, २०८३

ह्वाट्सएपमा फोन नम्बर बिना नै कुराकानी गर्न सकिने ‘युजरनेम’ फिचर आउँदै

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

ह्वाट्सएपमा फोन नम्बर बिना नै कुराकानी गर्न सकिने ‘युजरनेम’ फिचर आउँदै

२०८३ असार १८, काठमाडौँ । प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयतालाई थप बलियो बनाउन फोन नम्बर नदेखाई कुराकानी गर्न सकिने नयाँ ‘युजरनेम’ सुविधा ल्याउने तयारी गरेको छ ।

कम्पनीले यस सुविधाका लागि प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने युजरनेम पहिले नै सुरक्षित (रिजर्भ) गर्न सक्ने प्रक्रिया समेत सुरु गरिसकेको छ। आगामी महिनाहरूमा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्तामाझ उपलब्ध गराइने यो फिचर पूर्ण रूपमा लागू भएपछि प्रयोगमा आउने ह्वाट्सएपले जनाएको छ ।

ह्वाट्सएपले आफ्नो आधिकारिक ब्लगमार्फत यो नयाँ अपडेट विशेषगरी अपरिचित व्यक्ति, ठुला ग्रुप च्याट तथा व्यावसायिक कुराकानीमा फोन नम्बर गोप्य राख्ने उद्देश्यले ल्याउन लागिएको प्रस्ट पारेको छ ।

नयाँ व्यक्तिसँग भेट हुँदा फोन नम्बर साझा गर्नु कतिपय अवस्थामा असुरक्षित महसुस हुन सक्ने भएकाले अब केवल संवादकै लागि मात्र फोन नम्बर अनिवार्य नहुने कम्पनीको भनाइ छ ।

सुरक्षालाई अझ प्रभावकारी बनाउन ह्वाट्सएपले ‘युजरनेम की’ नामक अतिरिक्त सुरक्षा प्रणाली पनि समावेश गर्ने भएको छ, जसअन्तर्गत कसैलाई सम्पर्क गर्न युजरनेमका साथमा थप विशेष कोडको आवश्यकता पर्नेछ ।

यस युजरनेम प्रणालीमा कुनै सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव नहुने भएकाले अपरिचितहरूबाट आउने अनावश्यक मेसेजको जोखिम निकै घट्ने दाबी गरिएको छ ।

प्रयोगकर्ताले अक्षर, सङ्ख्या, डट र अन्डरस्कोर प्रयोग गरेर अधिकतम ३५ अक्षरसम्मको युजरनेम बनाउन सक्नेछन् र यसलाई आफ्नो अनुकूलता अनुसार जुनसुकै बेला परिवर्तन गर्न वा हटाउन समेत सक्नेछन् ।

व्यवसाय तथा क्रिएटरहरूका लागि भने आफ्ना अन्य मेटा प्लेटफर्महरू जस्तै इन्स्टाग्राम र फेसबुकमा प्रयोग भइरहेकै युजरनेमलाई ह्वाट्सएपमा पनि सुरक्षित राख्न सक्ने सुविधा दिइनेछ ।

यो नयाँ प्रविधि चरणबद्ध रूपमा विस्तार गरिने र आफ्नो अकाउन्टमा उपलब्ध भएपछि प्रयोगकर्ताले इन-एप सूचना (Notification) मार्फत जानकारी पाउने एएनआईले जनाएको छ ।

advertisement_1680627680.gif