राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १९ फाल्गुन, २०८२
२०८२ फागुन १९, काठमाडौं । मध्यपूर्वी क्षेत्रमा उत्पन्न पछिल्लो तनावका कारण अलपत्र अवस्थामा परेका नेपाली नागरिकको विवरण संकलन र आवश्यक सहयोग तथा उद्धारका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।
यो पोर्टल युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायतका खाडी क्षेत्रका देशमा रहेका नेपाली नागरिकका लागि लक्षित गरिएको छ । सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले सबै नेपालीलाई यथाशीघ्र आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्था पोर्टलमा अद्यावधिक गर्न अनुरोध गरेका छन् ।
पहिलो चरणमा पोर्टलमार्फत नेपाल फर्कने क्रममा विमानस्थलमा अलपत्र परेका, भिसा अवधि सकिएका वा कम्पनीबाट भिसा रद्द भएपछि असहज अवस्थामा रहेका नेपालीले आफ्नो विवरण प्रविष्ट गर्न सक्ने व्यवस्था गरिएको छ । जानकारी प्राप्त भएपछि सम्बन्धित निकायले समन्वय गरी आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ ।
सरकारको यो पहलले मध्यपूर्वी क्षेत्रमा रहेका श्रमिक र अन्य नेपाली नागरिकबीच बढेको चिन्ता कम गर्न तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ । दूतावासहरूले आपतकालीन अवस्थामा रहेका नेपालीलाई अफवाहमा नपरी, केवल आधिकारिक च्यानलमार्फत सम्पर्क गर्न समेत निर्देशन जारी गरेका छन् ।
