बिहीबार, २८ फाल्गुन, २०८२

प्रशान्त तामाङकी पत्नीले भनिन् ‘उहाँको निद्रामा नै प्राकृतिक मृत्यु भएको हो’

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ पुष, २०८२

प्रशान्त तामाङकी पत्नीले भनिन् ‘उहाँको निद्रामा नै प्राकृतिक मृत्यु भएको हो’

२०८२ पुष २८, काठमाडौँ । लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ जितेर चर्चामा आएका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको छ । उनकी पत्नी मार्था एलेले तामाङको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् ।

भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै मार्था एलेले यस्तो बताएकी हुन् । उनले तामाङको निधनपछि विश्वभरबाट आएको समर्थन र समवेदनाप्रति आभार व्यक्त गरिन् । “सबैलाई धन्यवाद । संसारभरबाट फोन आइरहेका छन् । चिनेजानेका मात्र होइन, नचिनेका मानिसहरूले पनि फूल पठाइरहेका छन् । मानिसहरू घरबाहिर उभिएका छन, अस्पतालमा अन्तिम दर्शनका लागि आएका छन,” उनले भनिन् । प्रशान्त तामाङप्रति जनताबाट आएको माया र भावनात्मक प्रतिक्रिया आफूहरुका लागि अत्यन्तै भावुक बनाउने खालको रहेको उल्लेख गर्दै उनले थपिन, “कृपया उहाँलाई पहिलेझैँ माया गरिरहनुहोस् । उहाँ एक महान आत्मा र असल मानिस हुनुहुन्थ्यो । त्यही रूपमा उहाँलाई सम्झिरहनुहोला ।”

अचानक कम उमेरमै निधन भएको विषयमा उठिरहेका अड्कलबाजीप्रति स्पष्ट पार्दै मार्था एलेले कुनै पनि शंकास्पद अवस्था नरहेको बाएकी हुन् । “यो प्राकृतिक मृत्यु हो । उहाँ निद्रामा नै हामीबाट टाढा हुनुभयो । म त्यही बेला उहाँकै छेउमा थिएँ,” उनले भनिन् ।

यसैबीच, दक्षिण–पश्चिम दिल्लीका एडीसीपी अभिमन्यु पोस्वालले मृत्युबारे आधिकारिक जानकारी दिँदै अन्तिम पोस्टमार्टम रिपोर्ट नआएसम्म कुनै पनि शंकास्पद पक्ष औँल्याउन गाह्रो हुने बताएका छन् । उनका अनुसार आइतबार दिउँसो ३ः१० बजे माता चानन देवी अस्पतालबाट मेडिकल लिगल केस (एमएलसी) प्राप्त भएको थियो, जसमा रघुनगरका बासिन्दा प्रशान्त तामाङलाई अस्पताल ल्याउँदा मृत घोषणा गरिएको उल्लेख छ । घटनापछि अपराध अनुसन्धान टोली र फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) टोलीले मृतकको निवासमा पुगेर प्रमाण संकलन गरेको र शव पोस्टमार्टमका लागि दीनदयाल उपाध्याय (डीडीयू) अस्पताल पठाइएको छ । तामाङ पत्नी र छोरीसँगै बस्दै आएका थिए र पत्नीले नै उनलाई अस्पताल पु¥याएकी थिइन् । उनको बयानसमेत लिइसकिएको प्रहरीले जनाएको छ ।

सन् १९८३ जनवरी ४ मा दार्जिलिङको टुङ्सुङमा जन्मिएका प्रशान्त तामाङले औपचारिक संगीत शिक्षा नलिए पनि पश्चिम बंगाल प्रहरीको पुलिस अर्खेस्ट्रामार्फत आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाएका थिए । ‘इन्डियन आइडल’ जितेपछि उनले गायनसँगै अभिनय क्षेत्रमा पनि पाइला चाल्दै नेपाली सुपरहिट फिल्म ‘गोर्खा पल्टन’ सहित दर्जनौँ फिल्ममा अभिनय गरेका थिए ।

advertisement_1676553851.gif