बिहीबार, २८ फाल्गुन, २०८२

दैलेखमा बदेलको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १३ माघ, २०८२

दैलेखमा बदेलको आक्रमणबाट एकको मृत्यु, दुई जना घाइते

२०८२ माघ १२, दैलेख । दैलेखमा बदेलकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।

साेमबार दैलेखको भैरबी गाउँपालिका–५ गडीगाउँका ७८ वर्षीय प्रदीप सिंहको बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए ।

आजै दिउँसो  भएको घटनामा प्रहरीका अनुसार छिमेकी गाउँ भैरबी गाउँपालिका–६ कुटी नजिक घाम तापेर बसिरहेका बेला रातामाटे सल्लेरी वन क्षेत्रबाट आएको बँधेलले आक्रमण गरी गुप्ताङ कोपरेर घाइते बनाएका सिंहको अध्याधिक रक्तश्राव भई घटनास्थलमै मृत्यु भएको हो । यो क्षेत्र दुवै गाउँपालिकाको सिमानामा पर्ने भएकाले बँदेलले दुवैतर्फका बस्तीमा आतंक सिर्जना गरेको स्थानीयले बताएका छन् ।

महावु–४ गीताचौर स्वास्थ्यचौकीका इञ्चार्ज राजेश हमालले घटनास्थलको वस्तुस्थितिबारे जानकारी दिँदै भने, ‘आक्रमण गर्ने बँदेल अहिले पनि घटनास्थल नजिकै ५०–६० फिटको दूरीमा बसिरहेको छ । यसले गाउँलेहरू आतंकितत छन् । तत्काल नियन्त्रण नगरिए थप मानवीय क्षति हुनसक्ने देखिएको छ ।’

घटनाको जानकारी पाएलगत्तै काँशिकाँध अस्थायी प्रहरीचौकीबाट प्रहरी टोली र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ पठाइएको छभने गाउँपालिकाको टोली पनि सो क्षेत्रतर्फ लागेका छन् । प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वन्यजन्तुको आक्रमणबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त बँदेललाई नियन्त्रणमा लिन सम्बन्धित सरोकारवाला निकायहरूसँग छलफल भइरहेको बताए। 

‘हामीले स्थिति नियन्त्रणमा लिन र थप घटना हुन नदिन आवश्यक योजना बनाइरहेका छौँ’, प्रजिअ सारुले भने।

यो क्षेत्रमा विगत केही समयदेखि जङ्गली बँदेल र जनावरहरूले मानिसलाई आक्रमण गर्ने तथा बालीनाली नष्ट गर्ने गर्दा स्थानीयवासी सास्ती भोग्दै आएका छन् । वन्यजन्तुको बढ्दो आतंकका कारण बस्ती नै असुरक्षित भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गरेका छन् ।

advertisement_1772818633.jpg