लेखक, बिहीबार, २० भाद्र, २०८१
यो वर्षको हरितालिका तीजको दिन आउन मात्रै एक दिन बाँकी छ । श्रावण महिनाको शुरुआत सँगै साउने संक्रान्तिबाट शुरु भएका चाडपर्वमा नारी अस्मिताको पहिलो महत्वपूर्ण पर्व तीजको रमझमको बुधवार विश्राम हुँदैछ । हुन त यो महिलाहरुले पञ्चमी सकेर बिर्सजन हुन्छ, तर भाद्र २१ गते शुक्रवार तीजको मुख्य दिनबाट आम बोलीचालीमा तीज सकिन्छ । श्रावण माहात्म्यको पर्व भगवान शिवको आराधना उपसना गरेर तीजको दिन शिवालयमा गएर छम्छमी नाचेर विदा गरिन्छ यो पर्वलाई ।
नेपालमा नाग पञ्चमीको दिनबाट हिउँद लागेको मानिन्छ भने माघ महिनामा पर्ने श्री पञ्चमी (वसन्त पञ्चमी) बाट वर्षायाम लागेको मानिन्छ । त्यो दिनबाट खेतीपातीको तयारी सँगै कामको पनि थालनी हुने गर्छ । यसका पछाडीको कारण विशुद्ध रुपमा कृषिसँग जोडिएको छ । नेपाली कृषिको कथामा यी दुई चाडको विशेष अर्थ पनि छ । परम्परा अनुसार श्रावण महिनामा पर्ने नागपञ्चमी सम्ममा धान कोदो रोप्ने काम सम्पन्न गरेर बारीमा पाकेको मकै नागको थानमा चढाएर बाली सर्मपण गर्ने र पानीको सहकालका देउता नागलाई अब तिमीले रक्षा गर मेरो बाली नाली भन्ने प्रचलन रहेको छ । उक्त दिनबाट खेतीपातीको चटारो सकिएको र अब गोडमेल सुुरसार गर्ने र खेतीपातीहरु भित्र्याउने दिन शुरु हुन लागेका हुन भन्ने संकेत पनि गरेको पाइन्छ ।
यसैगरि नेपाली कृषिमा सबैभन्दा ठूलो योगदान रहेको महिलाहरुको हिलोको काम सकिएको र अब आफ्नो सुन्दरतालाई सिँगार्ने, आनन्द मन बनाएर भगवानको आराधना गर्ने, तीजको समय पारेर आफ्नो जन्मघर माइती जाने र वर्षभरि कर्मघरमा भोगेका कथाहरुलाई आफ्ना माइती चेलीहरु, साथीसँगीहरु सित बसेर गीतको मालामा उनेर रमाइलो गर्दै सँधै आफुले अरुलाई पकाएर खुवाएकोमा केहि दिन भएपनि आमा बा, दाजु भाउजू भाई बुहारी आदिले पकाएर दिएको खाएर जिब्रोको स्वाद फेर्ने गरिन्छ । यस समयमा आफ्ना तिता मिठा
कथाव्यथाहरुलाई या फेरि देशकाल परिस्थितिले जन्माएका घटनालाई निर्धक्क भएर गीतमा पस्किने र छम्छम नाच्ने गरिन्छ । वास्तवमा भन्ने हो भने यो तीज नेपाली महिलाहरुको स्वतन्त्रताको, विश्रामको, बिलौना साटासाटको अधिकारको चाड पनि हो भन्दा अतिसयुक्ति हुँदैन ।
यी चाडपर्व आउनासाथ नेपाली संस्कार र सँस्कृतिको उछितो काढ्नेहरु अत्तालिन थाल्छन् । यी चाडपर्वहरुमा सरकारमा बसेकाहरुले कुनै शुभकामना समेत दिने कन्जुस्याईँ गर्ने, सके अझ अपहेलित शब्दहरु प्रयोग गरेर हाम्रा मौलिक चाडको उछितो काढ्ने पनि गर्छन् । नेपाली महिलाहरुले मात्रै मनाउने नेपालको मौलिक चाड तीजको परम्परागत प्रकारको महत्व भन्दा पनि ऐयासीको माध्यम बनाउनतिर लागेको पाइन्छ । यस्तो बनेको पनि छ । व्यापारीको माल बेच्ने विज्ञापन देखि यसलाई उपभोग गर्ने ठूलो हिस्सा महिलालाई नै बनाइएको छ । मर्यादित समाजमा सम्मानित बनेका महिलाको अंग अंग किनबेच गर्ने र उनीहरुको गर्भ नै किन्ने र प्रयोग गर्ने पश्चिमाहरुको सँस्कृतिका हिमायतीहरुको जोडबलमा नेपाली नारीको अस्मिता नै उदाङ्गो बनाउने गरि गीतको रचना गरेर, त्यसलाई महिलाको अधिकारको ट्याग लगाइदिएर, होटल र रेष्टुरेन्टमा डिस्को नाचेर, मदिरामा लठ्ठ परुञ्जेल अर्धनग्न भएर उफ्रिनुलाई नै आफ्नो स्वतन्त्रता र अधिकार मान्ने स्वछन्दता यो तीजको आडमा नै चलाउन खोजिएको पाइन्छ । गाउँघरमा जुवाडेलाई मरुमारु परेको घरमा जुवाखेल्ने दाउ मिले झैं अधिकारको नाउँको खतिउपति गर्नेहरुको लागि तीज प्रयोग हुन थालेको छ ।
जुन चाडको परम्परागत र साँस्कृतिक महत्व जुन कुराको हो त्यसको साँस्कृतिक महत्व नै सकिने गरि उत्ताउलो बनाउन पाउनै पर्छ भन्नेहरुले आफुलाई नारीवादी भन्ने र नारीको अधिकार भन्दै सामाजिक सञ्जाल रंङ्ग्याएको देखिन्छ । गर्दागर्दा अहिले त यतिसम्म पनि भन्ने गरेको पाइन्छ कि चुरापोते किन लगाउने ? सिन्दूर टीका किन लगाउने ? ब्रत र निराहार किन बस्ने ? भन्दा परै यौन धन्दा पनि अधिकार हो मदिरामा लठ्ठिएर हिंड्न पाउनु पनि महिला अधिकार हो भन्ने जस्ता कुरा आएका छन् । यी आदि इत्यादि भनेर नारीलाई हेप्ने नारी हेपिएका परम्पराहरु किन मान्ने भन्दै बुरुक्क उफ्रेका छन् । यसमा केहि आफुलाई बडो क्रान्तिकारी भन्नेहरु, आफुलाई ठूलो राजनीतिक सिद्धान्तकार भन्ने नास्तिकहरुको राजनीतिक झुण्ड पनि थपिएको छ । तर मलाई त्यस्ता मनुवाहरुलाई सोध्नै पर्ने जस्तो लागेको छ कि यहि हाम्रो समाज हो ? हाम्रो धर्म सँस्कृति र परम्परा हो जहाँ नारीलाई देवीको स्वरुप मानिन्छ किन ? सृष्टिको लागि एक्लो पुरुष मात्रैले केहि गरेर हुन्छ र ? के अन्य कुनै सम्प्रदायमा नारी धर्म रक्षक, धर्म प्रवर्तक भएका छन् ? के नारी बिनाको घरको कल्पना गर्न सक्छौ ? के तिम्रो अस्तित्व नारी बिना सम्भव भएको हो ? पुरुषको सफलता, असफलता सबैमा नारीको महत्वपूर्ण योगदान मान्छौ र देख्छौं कि देख्दैनौं ? अलिकति तिम्रो घरमा उमेर ढल्केका आमा दिदीबैनीलाई पनि सोध त ।
हे मनुवाहरु हो, आज पश्चिमाहरुको शैलीमा आफ्नो उत्पादनको, मोटरसाइकल, कार, मोबाइल, रक्सी, बियरदेखि होटल रिसोर्ट र कण्डमसम्मको प्रचारमा समेत नारीलाई नग्न बनाएर, उसको जिउडालको स्वरुपलाई ती उत्पादन सित जोडेर उभ्याएर व्यापारको प्रचार गर्दा के ती नारीहरुमा तिम्रो आमा, बैनी र तिम्री जीवन सँगिनीको चित्र देखिँदैन ? अनि ती चित्रहरुमा नारीहरुको अस्मिता लुटिएको र नारीहरुको स्वरुप नाङ्गिएको देखिँदैन ? कि त्यो पनि तिमीहरुको विचारमा नारी अधिकार हो ?
पहिलो कुरा त नारीहरुले श्रीमानको गोडा धोएर जल खान हुन्न भनेर यसको प्रचलन नेपालबाट पहिल्यै हटिसकेको छ । यो कहिँ कतै तिमीहरुले नै बन्द कोठाभित्र गराउने गरेका छौं भने आफै जान र तर जहाँसम्म चुरा पोते, टिका सिन्दूरको कुरा छ, यो भनेको कुनै पनि अर्थमा नारीहरुको स्वतन्त्रताको हनन् होइन । यो त नारीको श्रृङ्गार हो । भोलि त यी मनुवाहरुले त नङ पालिस किन लगाउने, चुल्ठो किन पाल्ने, लिपिस्टिक किन लगाउने, हिल चप्पल किन लगाउने भनेर यो पनि नारीको शोषण हो भन्नेछन् किन नभन्ने ? तर भन्दैनन् किनकि यो उनीहरुका अर्को व्यापार हो । तथापि यो सबै तिनै पश्चिमाहरुले व्यापार गर्न चलाएका चलन हुन् । नेपालमा त उच्च तहमा पुगेकाहरु, सांसद्हरु, अधिकाँश राजनीतिमा लागेका महिलाहरु र आइएनजिओको कलो खाने गरेकाहरुले कहिँ कतै पनि चुरापोते, टिका सिन्दूर लगाएको देखिँदैन, यो पनि अधिकारकै नाममा भएको छ । किनकि यिनीहरु नै यसको विरोधका लागि त्यहाँ पुगेका हुन् । व्यापारमा जति विरोध गरायो त्यो समानको प्रयोगमा त्यति कौतुहलता र वृद्धि हुन्छ भन्ने सिद्धान्तले यहाँ पनि काम गरेको होला । यसैमा उनीहरुलाई नारीवादीको पगरी मिल्छ तथापि नारीहरु सबैभन्दा प्रताडित यिनीहरुका घरमा नै होलान् त्यो अलग कुरा हो । यिनीहरुको कोकोहोलोमा नारीको अस्मिता लुटिएर, बलात्कृत भएर, तेजाब खन्याइएर प्रताडित हुँदा पनि सत्ता र शक्तिको आडमा क्षम्य बनाउने र ती नारीलाई न्याय, यो समाजमा धनवादले गरीब भएकै कारण नमिल्ने गरेको पनि लुकेको छैन ।
हाम्रो सँस्कृतिमा नारी भनेको त परिवारको मान हुन्, सम्मान र शान हुन् । सन्तानको लागि सिँङ्गो विश्वविद्यालय हुन् । मायाको खानी हुन । पुरुषको दुःखको सान्त्वना हुन् । समाजको ज्योति हुन् । सृष्टिको मूल हुन् । नारी आमा हुन्, धरती हुन्, करुणाको सागर हुन् । सहनशीलताको महासागर हुन् । स्वयं घर बनेर सन्ततिलाई छायाँ दिने संसार हुन् । लाज शरम, इज्जत र श्रृङ्गारको श्रोत हुन् । त्यसैले देवी, जननी, सरस्वती, दुर्गा र काली स्वरुपामा पूजित छन् । उनी बिनाको घर र संसारको परिकल्पना हाम्रो समाजले कहिल्यै गरेको छैन । तर यहि कथित नारी स्वतन्त्रताको कुरा गर्न लगाउनेहरु र वर्षमा एक दिन तारेहोटलमा मदिराको चुस्कीमा डलर पचाउन नारी दिवस मनाउनेहरुले नै यहाँ नारीको यो वास्तविक अस्तित्वलाई स्वीकार गर्दैनन् । किन ? किनकि पश्चिमी सँस्कृतिका वाहकहरुले नारीलाई त किनिन र बेचिन सक्ने, ठाउँ ठाउँमा र पोष्टरहरुमा नाङ्गिन सक्ने वस्तु सरह बनाएका छन् । नेपालमा पनि त्यहि मार्गमा र त्यहि श्रेण्ीमा राख्ने प्रायस गर्नु यिनीहरुका लागि नारी अधिकार र गर्वको कुरा भएको छ । जुन कुरा नेपाली सँस्कृतिका सम्वाहकहरुका लागि किमार्थ स्वीकार्य छैन ।
नारीको रक्षा र उनीहरुको मानसम्मान भनेको नै श्रृष्टिको सम्मान हो । धर्तीको र स्वयं देवीको सम्मान हो । मातृत्वको वात्सल्यताको मर्म आमा हुनेलाई थाह हुन्छ । सृष्टिको महत्व सृष्टिकर्तालाई नै थाह हुन्छ । गर्भ किनेर अर्कोको भाँडोमा जन्माउने सँस्कृति भएकाहरु र त्यसका अनुयायीहरुलाई यसको महत्व हुनै सक्दैन । नेपाली नारी मात्रैको मौलिक चाड तीजको महत्व, यसको परम्परा र यसको लोकलाज नारीको अस्मितासँग गाँसिएको कुरा हो । यसलाई कथित स्वतन्त्रताको स्वछन्दता बनाउँदै, दुईचार जना पश्चिमा नाङ्गो नाच हेरेर त्यसैलाई नै नारी स्वतन्त्रता मानेका मनुवाहरुको नियत कस्तो रहेछ भन्ने विगतदेखि नै कतिपय उछृङ्खल गीतको वकालतमा मात्रै होइन, यिनका सत्ता र स्वार्थमा समेत छर्लङ्ग भैसकेको छ । अब पनि यिनीहरुको यो हरकत निरन्तर बढ्दै गएमा नेपालको सिँङ्गो नारी अस्मिताको उछितो काढ्ने काम झनै बढेर जानेछ । यस्ता कार्यको जति निन्दा गरे पनि कमै हुन्छ । नारी अस्मिताको रक्षाका लागि सबैले यस्ता काम बन्द गर्नै पर्छ । नारी अस्मिता र सम्मानको पर्व तीजको सबै नेपाली नारीहरुमा शुभकामना ।
मित्रलाल सापकोटा,
खजुरा बजार, बाँके
मिति २०८१ भाद्र १९ गते