मंगलवार, ५ कार्तिक, २०८२

विदेशी नेपालीको पिडा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ४ भाद्र, २०८२

विदेशी नेपालीको पिडा

हाँसेर बिदा मागेँ रूँदिन भनेको थिएँ,
आमाको अँगालो, बाको आशीर्वाद लिएँ।
आँखामा सुनौलो भविष्य सजाएर,
हिँडेको थिएँ गाउँको धूलो उडाएर।
सोचेको थिएँ, केही वर्ष दुःख गर्छु,
अनि आफ्नै देशमा फर्की सुखले जिउँछु।
तर यहाँ परदेशमा दिनहरू गन्दा गन्दै,
वर्षौं बिते, रहरहरू मनमै मर्दा मर्दै ।

बिहानको चिसोमा मेसिनसँगै चल्दा,
याद आउँछ घरको आँगन, घाम झुल्किँदा।
यहाँका चिल्ला सडक, अग्ला घरहरू छन्,
तर मेरो मनमा मेरै गाउँका भिरपाखाहरू छन्।
कामको बोझले थिचिएको यो ज्यान,
हरेक रात सपनामा देख्छ नेपालको बिहान।
यहाँ डलर र युरो त कमाइन्छ होला,
तर बाल्यकालको त्यो हाँसो कहाँ बिक्छ होला?

दशैं आउँछ, निधार खाली नै रहन्छ,
टीका र जमराको यादले मन साह्रै पोल्छ।
तिहारमा देउसी-भैलो पराइको देशमा,
सम्झना मात्रै आउँछ, रंगीन परिवेशमा।
आमाले पकाएको सेलरोटीको बास्ना,
अनि दिदीबहिनीको हातको सप्तरङ्गी टीका,
यी सबै कुरा सम्झी मन भक्कानिन्छ,
परदेशीको जीवन यसरी नै चलिरहन्छ।

फोनमा जब सुन्छु छोराछोरीको तोते बोली,
"बाबा कहिले आउने?" भनी सोध्छन् भोलि भोलि।
मनमनै भन्छु, "छिट्टै आउँछु बाबु-नानी,"
तर थाहा छैन, कहिले सकिन्छ यो कहानी।
उनीहरूको स्कुलको फि, घरको किस्ता तिर्दा तिर्दा
आफ्नै जवानी गुमिरहेछ जिन्दगीको भीडमा।
भिडियो कलमा देख्छु परिवारको मुहार,
तर त्यो न्यानो स्पर्शको सधैं हुन्छ अभाव।

आफन्त बिरामी पर्दा, मन छट्पटाउँछ,
चाहेर पनि पुग्न नसक्दा, आँसु खस्छ।
कसैको अन्तिम बिदाइमा सामेल हुन नपाउँदा,
लाग्छ, कस्तो अभागी जीवन, परदेशमा रुँदा।
यहाँ कोही साथी छैनन्, दुःख बिसाउने,
आफ्नै मनको बह, आफैँले सिसाउने।
कहिलेकाहीँ लाग्छ, यो सब छाडेर फर्कूँ,
तर नेपालको अवस्था सम्झेर फेरि झस्कन्छु।

ऋणको भारी बोकेर आएको सपना,
अझै पूरा भएको छैन, कसरी फर्कनु आप्mना?
स्वास्थ्यले साथ छाड्दैछ, शरीर कमजोर बन्दैछ
पैसा कमाउने धुनमा, जिन्दगी नै सकिँदैछ।
जस्तो सोचेर आएको थिएँ, त्यस्तो पटक्कै रहेनछ,
परदेशको जीवन संघर्ष बाहेक केही रहेनछ।
तर पनि हरेश खाएको छैन, मनमा छ एउटै आस,
एकदिन अवश्य फर्किनेछु, आफ्नै देशको पास।

यो कविता हरेक त्यो नेपालीको नाममा,
जो आफ्नो र परिवारको खुसीको लागि छ विदेशमा।
तिम्रो पसिनाले देशको अर्थतन्त्र चलेको छ,
तिम्रो त्याग र बलिदानले नै कयौं घर बलेको छ।
नबिर्सनु आफ्नो माटो, नभुल्नु आफ्नो भाषा,
फर्किआऊ है छिट्टै, यही छ सबैको आशा।
यो विदेशी नेपालीको पिडा, कसले बुझिदेला?
आफ्नो देशको माया मनमा सधैं रहिरहेला।  

advertisement_1676553851.gif