राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ११ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
पाल्पा, भदौ ११ । वीरताको प्रतिकको रूपमा रहेको २०५औं रणउजीरेश्वरी भगवतीको रथ यात्रा पाल्पाको तानसेनमा निकालिएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ ।

यसपटक राष्ट्रप्रमुख राष्ट्रपती रामचन्द्र पौडेलले भगवतीको पुजाआजा तथा रथ यात्राको अवलोकन गरेका छन् । हरेक वर्षको भाद्र कृष्ण अष्टमीको भोलीपल्ट यो रथयात्रा निकालिदै आइएको छ । कृष्णजन्माष्टमीको भोलि पल्ट दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथजात्रा नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा निकाल्ने प्रचलन रहँदै आएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा यस वर्ष २ सय ५ वर्ष संस्करणकोको रुपमा यस वर्षको भगवती जात्रा निकालिएको छ। नेपाल एकीकरणको समयमा युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए । सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको थियो । पाँच वटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लडाईंमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । भगवती रथलाई सिन्दूर, अबिर र केशरी सहित अन्य वैदिक पुजापाठ गर्दै शहर परिक्रमा गराईएको थियो । जात्रालाई धार्मिक आस्थासँगै वीरताको संदेश दिने राष्ट्रिय पर्वको रुपमा लिँदै आईएको छ ।
भगवतीको जात्रा निकाल्नुभन्दा अघिल्लो राति नेपाली सेनाले सलामी दिँदै रथ पूजा, भजनकृतन गरिएको थियो । घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्य भागमा रहेको भगवती देवीको पाउँ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाइ सिन्दुरजात्रा गर्नेछु र भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए ।
कुमाल जातिका जवानले भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर परिक्रमा गराइएको छ । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाइका साथ मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । जात्रा अवलोकन गर्नेको विभिन्न जिल्लाबाट दर्शकको ठूलो भिड लागेको थियो ।
दुई पटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७२ देखि ७६ सम्म गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि विजयोत्सवका रुपमा प्रत्येक वर्ष भाद्रकृष्ण पक्षको नवमीको दिन भगवतीको रथजात्रा सञ्चालन हुँदै आएको छ । जात्रामा सहभागिताका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देही , काठमाडौं लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु पाल्पा आएका थिए ।
जात्रामा राष्ट्रपति रामचन्द्र पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत विशिष्ट अतिथिको रुपमा सहभागिता जनाएका छन् । जात्रालाई भव्य बनाउन यातायातमा बुटवल–तानसेन सवारी साधन चढेर आउने यात्रुहरुको लागि सवारीमा ५० प्रतिशतसम्म छुट गरिएको छ भने होटलको खाना र बस्नको लागि प्रतिशतसम्म छुट गरिएको समितिले जनाएको छ । राष्ट्रिय विरतासँग जोडिएको भगवती जात्राका दिन आज लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिएको छ ।
.jpeg)


