मंगलवार, २८ आश्विन, २०८२

आध्यात्मिक सन्देश सहित मानव सेवाको उत्कृष्ट अभियान एकै दिन एक लाख बढीले रक्तदान गरे

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १२ भाद्र, २०८२

आध्यात्मिक सन्देश सहित मानव सेवाको उत्कृष्ट अभियान  एकै दिन एक लाख बढीले रक्तदान गरे

२०८२ भदौ १२ ,नेपालगन्ज। ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग सेवा केन्द्रले विश्व बन्धुत्व दिवसका अवसरमा आयोजना गरेको विशाल रक्तदान महादान अभियानमा नेपाल, भारत र दक्षिण एशियाली मुलुकहरुमा एक लाख बढीले रक्तदान गरेका छन् ।केन्द्रले संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका पूर्व मुख्य प्रशासिका डा. प्रकाशमणि दादीको १८ औँ पुण्य तिथिको अवसर पारेर एक लाख युनिट रक्त–सङ्कलन गर्ने लक्ष्य सहित बृहत रक्तदान अभियान आयोजना गरेको हो ।

विशाल रक्तदान, महादान अभियानको रुपमा चार दिनसम्म आयोजना गरिएको अभियान भदौ ६ देखि ९ गतेसम्म सञ्चालन भएको सो अभियानमा नेपाल र भारतमा रहेका हजारौँ ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संघ संस्थाको सहकार्यमा उक्त विशाल अभियान सम्पन्न भएको हो ।

भदौ ६ देखि ९ गतेसम्मको ४ दिनमा १ लाख युनिट रगत सङ्कलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मकै सबैभन्दा ठूलो रक्तदान एवं सङ्कलन मानवीय प्रयास भएको रक्तदान अभियानका क्रियाशील संघसंस्था, रक्त अभियन्ताहरु र नेपालमा रक्त संकलन र भण्डारण गर्ने अधिकार पाएको एकमात्र संस्था नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको मूल्य र मान्यता अनुसार यस अभियानको मूल उद्देश्य गम्भीर अवस्था वा मृत्युको मुखमा पुगेका रगतको अभावमा छट्पटिएका विरामीहरुका लागि जीवनदान हनुका साथै समाजमा दया, सहयोग र विश्व बन्धुत्वको सन्देश फैलाउनु पनि रहेको बताइएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालका उपप्रमुख तथा पश्चिम नेपालका सहसंयोजक बालव्रम्हचारिणी वरिष्ठ राजयोगिनी ब्रह्माकुमारी दुर्गाले दिनु भएको जानकारी अनुसार विगत ५५ वर्षदेखि नेपालमा शान्ति, सद्भाव, राष्ट्रिय एकता र धार्मिक सहिष्णुतालाई कायम गर्न तथा आध्यात्मिक, नैतिक, चारित्रिक र मानवीय मूल्यहरूको पुनःस्थापन गर्नमा महत्वपूर्ण सामाजिक–आध्यात्मिक सकारात्मक कार्यहरू गर्दै आएको ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले नेपालमा एक लाखभन्दा बढी संख्याका सर्वसाधारण नागरिकलाई धुम्रपान, मद्यपान, लागुपदार्थ जस्ता कूलत र दुव्र्यसनबाट मुक्त गर्ने कार्यमा क्रियाशील रहँदै आएको छ ।

ब्रह्माकुमारी दुर्गाले भन्नुभयो– केन्द्रको पहिलो प्रयासमा सम्पन्न ‘विशाल रक्तदान महाअभियान–२०२५’ अन्तर्गत १०० घण्टाभित्र नेपाल, भारत र एशियाली मुलुकका सयौँ स्थानमा एकै पटक एक लाख युनिट भन्दा बढी रगत सङ्कलन भएको छ, जसले लाखौं मानिको जीवन बचाउन सहयोग गर्नेछ । यसबाट हामी ज्यादै उत्साहित भएका छौं ।

सो संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार भदौ ६ गतेदेखि आजसम्म देशको विभिन्न स्थानमा गरिएका रक्तदान कार्यक्रममा नेपाल स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले चार दिनमा ११ हजार ९१६ पिन्ट रक्त संकलन गरेको छ । पहिलो एक दिनमै पाँच हजार ४७ पिन्ट रगत संकलन भएको थियो । सो परिमाणमा रगत संकलन नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको र नयाँ कीर्तिमान कायम भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको काठमाडौँ, नेपालगन्ज, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङमा रक्त संकलन गरिएको हो । सो महाअभियानमा बाँके र बर्दियामा नेपाल स्वयंसेवी रक्तदाता समाजका जिल्ला शाखाहरुको सहकार्यमा तीन दिनसम्म सञ्चालन भएको रक्तदान शिविरमा ३४४ पिन्ट रगत संकलन भएको थियो । नेपालगन्ज सेवा केन्द्रका सहइञ्चार्ज ब्रह्माकुमार कृष्णका अनुसार नेपालका १३४ स्थान सहित भारतका विभिन्न क्षेत्रमा भदौ ६ देखि ९ गतेसम्म सञ्चालन गरिएको उक्त अभियानमा उत्साहपूर्वक सहभागिता भएको थियो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्ज अन्तर्गत बाँकेमा १५४ र बर्दियामा १९० पिन्ट रगत संकलन भएको ब्रह्माकुमार कृष्णले जानकारी दिनुभयो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका सेवा केन्द्रहरूले विभिन्न संघ–संस्था र सामाजिक निकायहरूसँग सहकार्य गरेर रक्तदान महादान शिविर आयोजना गरिएको हो । बर्दियामा नेपाल स्वयंसेवी रक्तदाता समाजका बर्दिया जिल्ला अध्यक्ष प्रेम सागर लम्सालको सक्रिय सहयोग रहेको थियो ।

तेस्रो दिन भदौ ८ गते नेपालका विभिन्न जिल्लामा सञ्चालन भएका रक्तदान कार्यक्रमहरूबाट जम्मा ३,१२१ पिन्ट रगत संकलन गरिएको थियो । आइतवारसम्म एशियाका सबै मुलुकमा एक लाख भन्दा बढी रगत संकलन भएको व्रम्हाकुमार कृष्णले जानकारी दिनु भयो । 

advertisement_1744958411.jpg