सोमबार, १२ आश्विन, २०८३

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

२०८३ असोज ११ गुल्मी । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका २३१ घर उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिकाका १५, सत्यवती गाउँपालिकाका ३० घर, रुरुक्षेत्र गाउँपालिकाका ४०, मुसिकोट नगरपालिकाका १२ र रेसुङ्गा नगरपालिकाका २५ घर जोखिममा परेका छन् । त्यसैगरी गुल्मीदरबार गाउँपालिकाका पाँच, चन्द्रकोट गाउँपालिकाका ७०, धुर्कोट गाउँपालिकाका १५, इस्माका १२ र छत्रकोट गाउँपालिकाका सात घर पहिरोको जोखिममा परेका उनले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढीपहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताए। जोखिममा रहेका तथा विस्थापित परिवारको विवरण थपिन सक्ने भएकाले घटनाको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

बाढीपहिरोका कारण उच्च जोखिममा परेर विस्थापित परिवारलाई स्थानीय पालिकाहरूको सहयोगमा सुरक्षित स्थानमा सार्ने आवश्यक सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

advertisement_1680627680.gif