राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ भाद्र, २०८१
तस्विर: राष्ट्रिय सन्देश
नेपालगञ्ज (बाँके), भदौ १३ । बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जानकारी दिए ।
गम्भीर घाइते भएका दाङ जिल्लाको घोराहीका ३० वर्षीय विमल राईको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक नारायण डॉंगीले जानकारी दिए।
दाङको तुलसीपुरदेखि नेपालगञ्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुवाहक बस कोहलपुर नेपालगञ्ज सडकखण्डको गनापुरमा अनियन्त्रित भई दुर्घटनामा भएको थियो ।
दुर्घटनामा घाइते २६ जनाको नेपालगञ्ज र कोहलपुरमा उपचार भइरहेको छ । तीमध्ये भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा चारजनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।