राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २१ श्रावण, २०८२
२०८२ साउन २०, पाल्पा । अविरल बर्षाका कारण बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । सोमबार साँझदेखि ठाउँ ठाउँमा गएको पहिरो र ढुंगा झरेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । १६ घण्टादेखि सडकखण्ड बन्द भएको छ ।
यस्तै आर्यभाङ्ज्याङ्-रामपुर सडकखण्डको माथागढी-१, चिदीपानी बुढिकोट क्षेत्रमा खसेको पहिराेले सो सडक बिहानदेखि अबरूद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यता सालझण्डी सुँगुरेढुङ्गा सडकखण्ड पनि अबरूद्ध बनेको छ । सो सडकखण्डको जुठापौवामा खसेको पहिरोले सडक अबरूद्ध बनेको हो । अविरल वर्षात भइरहेकोले पहिरो हटाउन समस्या छ । सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा खसेको पहिरो हटाउन स्काभेटर र जेसिवीको व्यवस्था गरिएको भएपनि वर्षातले पहिरो हटाउन समस्या भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक अबरूद्ध हुँदा सयौं सवारीसाधन बर्तुङ्, प्रभास, दोभान, चर्चरे क्षेत्रमा रोकिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।
निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । वर्षाको समयमा पहिरो खस्नुका साथै ढुङ्गाहरु सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको छ ।