आईतवार, १३ बैशाख, २०८३

बुटवलमा गर्भवती मृत्यु प्रकरण : डा. सतिस रुपाखेती निलम्बन, दुई क्लिनिक बन्द

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ बैशाख, २०८३

बुटवलमा गर्भवती मृत्यु प्रकरण : डा. सतिस रुपाखेती निलम्बन, दुई क्लिनिक बन्द

२०८३ बैशाख १२, बुटवल । पाल्पामा गर्भपतनका क्रममा एक महिलाको मृत्यु भएपछि त्यससँग सम्बन्धित घटनामा संलग्न चिकित्सकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको ज्यान गएको प्रकरणमा नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरवाही भएको ठहर गर्दै स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सतिस रुपाखेतीलाई तत्कालका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

घटनाको छानबिन गर्न गठित समितिले छोटो समयमै प्रतिवेदन तयार गरी सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनका आधारमा काउन्सिलले डा. रुपाखेती कार्यरत इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीको सञ्चालनसमेत अस्थायी रूपमा बन्द गर्न निर्देशन दिएको छ । समितिका संयोजक डा. सम्राट पराजुलीका अनुसार सम्बन्धित निकायलाई पनि आवश्यक कारबाहीका लागि पत्राचार गरिने तयारी गरिएको छ ।

यसअघि काउन्सिलले छानबिन प्रक्रिया सुरु गरेपछि मृतकका परिवारले शव बुझेका थिए। घटनामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कानुनी कारबाहीको माग परिवारले गर्दै आएका छन् ।

प्रहरीले उपचारमा संलग्न दुई चिकित्सकसहित पाँच स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ । 

advertisement_1676551694.gif