राष्ट्रिय सन्देश संबाददाता, ६ घण्टा पहिले
२०८३ बैशाख १३, बुटवल । बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन डोजर चलाइएको छ । बुटवल उपमहानगरको नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरी सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर आज बिहानदेखि चलाइएको हो ।
उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घरटहरा खाली गराउन सूचना जारी गरेसँगै घरटहराहरू बस्दै आएकाहरूले आफैँ खाली खाली गरेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै अतिक्रमण टहरा हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ जग्गा खाली गराउन थालेका हुन् । केहीले गएराति नै सामानहरू सारेका थिए । बुटवल उपमहानगरपालिका– ४ मा पर्ने उच्च अदालत तुलसीपुर इजलास बुटवलअगाडि सरकारी जग्गामा अतिक्रमण गरेर बसेको बस्ती खाली गर्न सुरु भएको हो ।
बिहानैदेखि त्यहाँ बनेका आधा दर्जन टहराधनीले सामान अन्यत्र सार्न थिए । यहाँ करिब दुई दर्जन घर–टहरा छन् । तत्कालीन लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेको र पछि उच्च अदालत तुलसीपुर बुटवल इजलासको नाममा भोगाधिकार दिइएको साविक कित्ता नं ३९६ मा बनाइएका संरचना हटाउन डोजर चलाइएको हो ।
बुटवल उपमहानगरपालिका साबिक वडा नं. ६ हाल वडा नम्बर ४ अन्तर्गत पर्ने करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलमा बनेका घरटहरा हटाउन उपमहानगरले सार्वजनिक सूचना जारी गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि डोजर चलाउन सुरु भएको जानकारी दिए ।