राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ भाद्र, २०८०
नेपालगन्ज (बाँके) पवन जायसवाल । बर्दियाको राजापुरका साहित्य प्रतिष्ठानको आयोजनामा प्रसिद्ध साहित्यकार प्रकाश राजापुरीको ८५ औं जन्म जयन्तिको अवसरमा एक श्रद्धाञ्जली समारोहको आयोजना गरी मनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सभा सदस्य तथा प्रमुख अतिथि महानन्द ढकालले कार्यक्रमको उद्घाटन गर्दै प्रकाश राजापुरीको साहित्यक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनु पर्ने बताउनु भएको थियो । महानन्द ढकालले प्रकाश राजापुरीको लेखनमा माटोको सुगन्ध भेट्टिने भन्दै राजापुर नगरपालिकाले राजापुरीको साहित्यिक योगदानलाई सम्झनु पर्ने बताउनु भएको थियो ।
वरिष्ठ साहित्यकार खगेन्द्र गिरि कोपिलाले राजापुरको व्याक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्दै मूल्चोकमा प्रकाश राजापुरीको शालिक स्थापना गर्न राजापुर साहित्य प्रतिष्ठानले पहल गर्नु पर्ने बताउनु भएको थियो ।राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले सभापतित्वमा मन्तव्य राख्दै राजापुरीले राजापुरलाई मात्रै होइन सिङ्गो गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई सम्झने गरेको बताउनु भएको थियो ।
कार्यक्रममा प्रकाश राजापुरीका पुत्र आलोक गुप्ताले राजापुरीको व्यक्तित्व जीवनको बारे बिचार राख्नु भएको थियो ।कार्यक्रममा जीवराज पाण्डेय, बालकृष्ण शर्मा, बद्री ढकाल, हीरामणी, सुभाष दहित, सन्तोष रेग्मी, श्याम शराबी र शाहदेव चौधरी लगायतले स्रस्टाहरुले नेपाली र थारु भाषामा सो कार्यक्रममा आ–आफ्नो रचना सुनाएका थिए ।