बिहीबार, २९ फाल्गुन, २०८१

एक साथ दुई क्याफे सञ्चालनमा, आम्दानीको १५ प्रतिशत सामाजिक काममा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २ फाल्गुन, २०८१

एक साथ दुई क्याफे सञ्चालनमा, आम्दानीको १५ प्रतिशत सामाजिक काममा

नेपालगन्ज । नेपालगन्जमा एकै दिन औपचारिक रुपमा शुभारम्भ गरिएको दुई वटा क्याफेबाट हुने आम्दानी रकमको १५ प्रतिशत सामाजिक काममा खर्च गरिने उद्घोष गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं. १० गणेशमान चोक स्थित अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पतालको छेउँमा औपचारिक शुभारम्भ गरिएको सेभेन क्याफे र मयुरा क्याफेबाट हुने आम्दानीको १५ प्रतिशत विभिन्न सामाजिक, शिक्षा तथा विभिन्न स्वास्थ्य कार्यक्रममा खर्च गरिने घोषणा सञ्चालक वरिष्ठ पेट रोग विशेषज्ञ डा. गौरव श्रेष्ठले गर्नु भएको हो । 

डा. श्रेष्ठले केही समय यता विभिन्न सामाजिक, शिक्षा, मानवीय तथा विभिन्न स्वास्थ्य कार्यक्रमहरु आयोजना आएको गोपाल नीना फाउण्डेसनलाई सहयोग गर्ने जानकारी दिंदै गणेशमान चोक आसपासमा ६-७ वटा अस्पताल र सरकारी कार्यालयहरु पनि भएको र त्यहाँ आउने विरामी, विरामीका कुरुवा, कर्मचारी लगायतका मानिसहरुका लागि राम्रो चिया खाजा पसल र क्याफेहरु नभएकोले उनीहरुलाई नै लक्षित गरेर दुई वटा क्याफे सञ्चालनमा ल्याइएको बताउनु भयो ।

उक्त फाउण्डेसन २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपाल प्रसाद श्रेष्ठ र प्रसिद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा नेपालगन्ज–१० मा २०७९ साल फाल्गुन महिनामा स्थापना गरिएको हो । 

प्रसिद्ध वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभएको सेभेन क्याफे र मयुरा क्याफे स्थानीय अरु भन्दा भिन्न र विशिष्ठ खालको आकर्षक बगैचा सहित सुन्दर इन्टेरियर डिजाइन नै क्याफेको मुख्य विशेषता हो । मनमोहक वातावरणमा ग्राहकको स्वास्थ्यलाई पनि मध्यनजर गर्दै चिया कफीदेखि खाजा खानाका परिकारहरु, पेय पदार्थ, फाष्ट फुड लगायतका शाकाहारी उपभोग्य वस्तुहरु क्याफेमा उपलब्ध हुने सञ्चालकले जानकारी दिएको छ ।

शुभारम्भको अवसरमा कार्यक्रमको सहजीकरण गर्दै वरिष्ठ पत्रकार पूर्ण लाल चुकेले मानिस स्वस्थ रहनका लागि औषधि उपचार मात्र होइन स्वस्थकर खानापिनमा पनि ध्यान दिनु पर्छ भन्ने मान्यताका अनुसार खोलिएका दुई क्याफेमा स्वस्थकर र गुणस्तरीय परिकार बनाउनमा जोड दिनु भयो । 

केही समय यता सामाजिक गतिविधिहरुमा सक्रियता देखाउँदै आएको फाउण्डेसनलाई क्याफेबाट हुने आम्दानीको १५ प्रतिशत रकम सहयोग गर्ने घोषणा प्रति खुशी व्यक्त गर्दै डा. गौरव श्रेष्ठको मातहतमा रहेको अन्य स्वास्थ्य सम्बन्धि व्यवसायिक प्रतिष्ठानहरुबाट पनि फाउण्डेसनलाई आम्दानीको १५ प्रतिशत रकम सहयोग उपलब्ध गराउँदै आएको जानकारी वरिष्ठ पत्रकार चुकेले दिनुभयो । उहाँका अनुसार अहिलेसम्म फाउण्डेसनलाई अन्य कुनै दातृसंस्थाहरुको सहयोग प्राप्त छैन।

सेभेन क्याफेमा कफी पारखीहरुले अरेबिका कफी विन्जको स्वाद पाउने छन् । आठौं शताब्दी ताका इथियोपिया स्थित कफा भन्ने प्रान्तबाट बाख्रा गोठलाले पत्ता लगाएको कफी संसारभरी विस्तार भएको मानिन्छ । साथै दुबै क्याफेमा अन्य परिकार समेत उपलब्ध गराइने क्याफे सञ्चालकले जानकारी दिएका छन् ।पछिल्ला केही बर्षहरुमा नेपालगन्जमा कफी र क्याफे संस्कृतिको निरन्तर विकास भइरहेको पाईन्छ।विभिन्न खाले कफीका ब्राण्ड चलिरहेको नेपालगन्जमा अरेबिकाको स्वादका लागि गार्डेन सहित उपयुक्त वातावरण सेभेन क्याफेले उपलब्ध गराएको छ ।उल्लेखनीय छ, संसारका विभिन्न देश मध्ये सबैभन्दा बढी कफी प्रयोग हुर्ने देश फिनल्याण्ड हो । त्यहाँ व्यक्तिले प्रति वर्ष १२.२ केजी कफी प्रयोग गर्छन् । कफीमा पाइने मुख्य तत्व क्याफिन हो । क्याफिनले मानिसको स्नायु प्रणालीलाई प्रभाव पार्छ । यो एक प्राकृतिक रासायनिक तत्व भित्र पर्छ ।

प्रतिदिन एक ब्यक्तिले बढीमा ४०० मिलिग्राम क्याफिन सेवन गर्न सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । स्ट्याण्डर्ड मापदण्ड ३–४ कप कफीमा ४०० मिलिग्राम क्याफिन पुग्छ । कफीका विन्ज भुटेर पिसेको धुलो कफीलाई ९०–९६ सेल्सियसमा तयार पारिन्छ । 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif