राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २ श्रावण, २०८०
चुरामणि तिमिल्सिना, गुल्मी । गुल्मीको रेसुङ्गामा साेमवारदेखि साउने मेला शुरु भएको छ । साउन महिनाको पहिलो दिन सोमवारे औँसी पर्वको अवसरमा धार्मिक क्षेत्र रेसुङ्गामा सोमबार बिहानैदेखि रेसुङ्गामा श्रद्धालुहरूको भिड लागेको छ ।
साउन महिनामा रेसुङ्गामा पुगेर महापोखरीमा स्नान गरी यज्ञशाला मन्दिरमा पूजाआजा गर्नेहरूको घुइँचो लाग्ने गर्दछ । विशेषगरी साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यस क्षेत्रमा एक महिने धार्मिक मेला सञ्चालन गर्दै आएकाे छ । अन्य महिनाको तुलनामा साउन महिनाको सोमवारका दिन श्रद्धालुकाे भिड लाग्ने गर्दछ ।
त्रेता युगदेखि यस क्षेत्रको महत्त्व अहिलेसम्म पनि कायम रहेको हुँदा यसको महत्त्व अझ बढ्दै गएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभयाे । त्यही आस्था र विश्वासका कारण रेसुङ्गा क्षेत्रमा गुल्मीसहित पाल्पा, बाग्लुङ, अर्घाखाँची, स्याङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाहरूबाट आउने श्रद्धालुहरूको बर्सेनि घुइँचो लाग्ने गर्दछ । साउन महिनाभर रेसुङ्गा संरक्षण समितिले यज्ञशालामा दिनहुँ हवन, रुद्री, गीता र चण्डी पाठका साथै रातभर भजन किर्तन हुने गर्छ ।
रेसुङ्गा नगरपालिकाले शुरु गरेको ‘जाउँ हिडौँ रेसुङ्गा’ अभियानसँगै विगतका वर्षहरूको तुलनामा यस पटक साउन महिनाभर ५० हजारभन्दा बढी श्रद्धालु रेसुङ्गा क्षेत्रमा भित्र्याउने योजना रहेको नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयाे ।
जिल्ला सदरमुकाम तम्घासदेखि सात किलोमिटर दुरीमा रहेको रेसुङ्गा पुग्न पक्की सडक बनेपछि झनै सहज भएकाे छ ।