राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २७ बैशाख, २०८२
२७ बैशाख २०८२, गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्ताको तीन पटक हवाई उडान हुने भएको छ । यस अघि हप्ताको एक दिन बिहिवार मात्र उडान हुँदै आएकोमा अबदेखि नियमित रुपमा आइतवार, मङ्गलवार र बिहीवारका लागि उडान थप गरिएको नेपाल वायु सेवा निगम रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) सँग भएका दुइ वटा ट्वीनअटर जहाज मर्मत भएसँगै रेसुङ्गा विमानस्थलमा उडान तालिका थप गरिएको हो ।
नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रुपमा हवाई उडान शुरू गरेको थियो । निगमले जिल्लामा व्यावसायिक उडान गरेसँगै शुरूमा हप्तामा तीन पटकसम्म उडान गरेपनि पछि घटाएर एक पटक मात्र उडान गर्दै आइरहेको थियो ।