मंगलवार, २८ आश्विन, २०८२

हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक रामपुरमा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ श्रावण, २०८२

हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक रामपुरमा सम्पन्न

२०८२ साउन २५, पाल्पा । महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली सम्बन्धी समन्वय बैठक आइतबार रामपुर नगरपालिकामा सम्पन्न भएको छ ।  

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरेले विभिन्न कानुन निर्माणमा ढिलाई हुँदा जनताले अनुभूती गर्ने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई पूर्ण संस्थागत गर्न नसकेको बताए । दुई ठुला दलको राजनीतिक स्वार्थका कारण पनि केही कानुन निर्माणमा त्रुटि र ढिलाई हुनुका साथै बनेका कानुन लागू गर्न ढिलाई भएको उल्लेख गरे । भौतिक निर्माणका कामले मात्रै विकास पूर्ण नहुने भन्दै उहाँले महिला अधिकारको क्षेत्रमा पनि केही कानुनी व्यवस्था गर्नु पर्छ भन्ने उद्देश्यले आफु लागि परेको बताए । रामपुर नगरपालिका र रम्भा गाउँपालिकाको आवश्यकतालाई महशुस गरेर आफुले २ पालिकालाई रोजेर महिला अधिकारको क्षेत्रका काम थालेको बताए । साथै राष्ट्रिय सभा सदस्य गैरेले तीन तहका सरकारविच समन्वय , सहकार्य र सहअस्तित्व राखेर विकास गर्नु पर्ने आवश्यकता औँल्याए ।

रामपुर नगरपालिकाको सभाहलमा भएको बैठकमा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले सिफारिस प्रणालीको निर्देशिका निर्माणका लागि थप छलफल गरेर अगाडी बढ्ने बताए । यस्तै रामपुर नगरपालिकाका कार्य बहाक नगर प्रमुख तथा प्रवक्ता कपिल बहादुर खाँणले महिला तथा बालबालिका विरुद्ध हिंसा सम्बोधनको लागि सिफारिस प्रणाली नगरपालिकाको लागि नयाँ निर्देशिका भएको भन्दै यसको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।

सारथी नेपाल पाल्पाका अध्यक्ष विष्णुमाया थापा मगरले हिंसामा परेका नागरिकको सेवा सहजता र पिडितको उद्धार तथा पुनस्थापनाका लागि सिफारिस प्रणाली महत्वपूर्ण र प्रभावकारी हुने बताए । उहाँले सारथी नेपाल संस्थाले महिला बालबालिका युवा जनजाति र पिछडिएका वर्गका समुदायको क्षेत्रमा काम गर्दै आएको भन्दै नगरपालिकामा पनि काम गर्ने बताए ।

सारथी नेपाल पाल्पाको आयोजना र रामपुर नगरपालिकाको व्यवस्थापनमा सिफारिस प्रणाली सम्बन्धी बैठक बसेको हो । सारथी नेपाल पाल्पाका अध्यक्ष विष्णुमाया थापा मगरको अध्यक्षतामा भएको समन्वय बैठक राष्ट्रिय सभा सदस्य माननीय राजेन्द्र लक्ष्मी गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

advertisement_1680627680.gif