राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २८ मंसिर, २०८२
२०८२ मंसिर २७, पाल्पा । शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिबार थप एकजनाको मृत्यु भएको हो ।
निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए ।
उनका अनुसार दुर्घटनामा नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, निस्दी–४ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो ।
उपचारका क्रममा शनिबार बुद्धिमायाका श्रीमान् ३४ वर्षीय सुन्दर विकको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको उनले जानकारी दिए ।
दुर्घटनामा आठजना घाइते भएका थिए । घाइतेमध्ये चारजनाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुईजनालाई उपचारपछि घर फर्काइएको जनाउँदै प्रहरी उपरीक्षक चौधरीले एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताए । उनका अनुसार सुन्दरको शनिबार मृत्यु भएको छ ।