राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २ असार, २०८१
नेपालगन्ज। बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अद्र्ध साप्ताहिक पत्रिका र एसओएस नेपालगन्जको संयुक्त आयोजना र नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वयमा त्रैमासिक रक्तदान कार्यक्रममा चार जना सञ्चारकर्मी तथा सात महिला सहित ४१ जनाले रक्तदान गरेका छन् ।
आज जेठ ३१ गते विहीवार आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।
खजुरा क्यान्सर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. सुभाष मेहता, वरिष्ठ पत्रकार झलक गैरे र एसओएस नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वासले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिकहरु होमराज गिरी, सन्दिप आचार्य र पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
कार्यक्रमको वीचमा आजकै दिन १०० औं पटक रक्तदान गर्ने पत्रकार तथा रक्त अभियन्ता पवन जायसवाललाई “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको थियो । उहाँलाई नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमतका सम्पादक पूर्णलाल चुके, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनालले दोसल्ला ओडाएर “शतक रक्तदाता” को रुपमा सम्मान गरिएको हो । “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ २०४६ साल असोज महिनादेखि निरन्तर रुपमा रक्तदान गर्दै आउनु भएको छ ।
त्यसैगरि कार्यक्रममा रक्तदानको महान अभियानमा हातेमालो गरी सहकार्य गर्ने सिद्धबाबा हार्डवेयर तथा स्टार पोेलिपाइप प्रा.लि., नेपालगन्ज–१८ का सञ्चालक स्वयम्सेवी रक्तदाता तथा समाजसेवी श्री कमल कार्की र ६० औं श्रङ्खलासम्म निरन्तर रुपमा प्राविधिक सहयोग गर्ने प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई उहाँहरुको योगदानको कदर गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।
जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ६० औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकारहरु दैनिक नेपालगन्जका सम्पादक झलक गैरे, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल र शतक रक्तदाता पवन जायसवाल, राप्तीसोनारी गाउँपालिका नेपाल स्वसम्सेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार तथा वडा नं.६ का वडा अध्यक्ष लवराज खरेल, एसओएस युवालय नेपालगन्जकी सहायक निर्देशक मीना भुषाल (तुलाधर) र लक्ष्मण काकीले रक्तदान गर्नु भएको छ ।
यसैगरि नियमित रक्तदाता लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, विनोद कुमार वैश्य, पवन कुमार वैश्य, होमराज गिरी, गौतम प्रसाद पौडेल, नेपाल रेडक्रस सोसाइटी बाँकेका वीरेन्द्र योगी, नेपाल स्वयंसेवी रक्रदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, कोषाध्यक्ष मनमोहन वर्मा पत्रकार खम्भ प्रसाद पुनले रक्तदान गरेका छन् ।
त्यस्तै राम सुहावन सोनकर, धीरज सिंह, नीरजमान श्रेष्ठ, बिनोद कुमार तमोली, दिपक कुमार जायसवाल, दिपक शाही, दर्शना चौधरी, लक्ष्मी नायक, कृष्ण प्रसाद ओली, श्याम बहादुर थारु, सुमन बडुवाल, सुरज ओली, सरस्वती नेपाली, अनन्या शाक्य, दिपा सापकोटा, विजय प्रसाद मौर्य, दिनेश प्रसाद तमोली, उर्दू साहित्यकार असफाक संघर्ष, खिम कुँवर, रुस्तम अली इद्रिसी, अशोक कुमार मौर्य, हीरालाल मौर्य, धमेन्द्र सिंह, भागीराम चौधरी, रोमान शाही, सञ्जिव योगी, सुरेन्द्र बिश्वकर्मा लगायत एसओएस युवालयका बालबालिकाहरु समेत ४१ जनाले रक्तदान गरेका हुन् ।
प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सन्दिप आचार्य, दिनेश रोकाया, पुनम राना, केशर सिंह डाँगी, वीरेन्द्र योगीले प्राविधिक सहयोग र अन्यमा निखिल जायसवाल सहयोग गरेका थिए ।
वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ६० औं श्रृङ्खलासम्म करीब तीन हजार पाँच सय पिन्ट भन्दा बढी स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।
स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।
सो कार्यक्रममा एसओएस युवालय नेपालगन्जका नायव निर्देशक तुलाराम विश्वास, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, कार्यक्रम संयोजक पवन जायसवाल सिद्धबाबा हार्डवेयर प्रालिका सञ्चालक तथा उद्योगी व्यवसायीहरु, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।