बुधबार, २० जेष्ठ, २०८३

झडेवा फाँटमा पुल निर्माण, स्थानीयलाई सहज आवागमनमा सहज

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

झडेवा फाँटमा पुल निर्माण, स्थानीयलाई सहज आवागमनमा सहज

२०८३ जेष्ठ २०, पाल्‍पा । माथागढी गाउँपालिका वडा नं. ४ को झडेवा फाँटमा निर्माण सम्पन्न भएको पुल तथा कल्भर्टले स्थानीयवासीको आवागमनलाई सहज बनाएको छ । लामो समयदेखि दलदले भूभाग र खोलाका कारण आवतजावतमा समस्या भोग्दै आएका स्थानीयले अब सहज रूपमा आवागमन गर्न पाउने भएका छन् ।

नवनिर्मित पुलमार्फत गाउँपालिकाको निर्माणाधीन नयाँ प्रशासनिक भवन, मामा हाउस रेस्टुरेन्ट हुँदै झडेवाको मुख्य क्षेत्रमा सवारीसाधन तथा पैदलयात्रीले सहज रूपमा आवतजावत गर्न सक्ने भएका छन् । पुल निर्माण भएपछि स्थानीय बासिन्दा, सेवाग्राही तथा विद्यार्थीहरूलाई विशेष राहत पुगेको बताइएको छ ।

वडा अध्यक्ष शंकर दर्लामी का अनुसार पुल निर्माणका लागि स्थानीय समाजसेवी फन बहादुर दर्लामी ले निःशुल्क तीन आनाभन्दा बढी जग्गा उपलब्ध गराएका थिए । उहाँको सहयोगपछि झडेवा खोलाको दलदले क्षेत्रमा कल्भर्टसहित पुल निर्माण कार्य अघि बढाइएको वडा अध्यक्ष दर्लामीले जानकारी दिए ।

माथागढी गाउँपालिकाको २५ लाख रुपैयाँ बजेटको सहयोगमा निर्माण सम्पन्न भएको उक्त योजनाले स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । पुल निर्माणसँगै गाउँपालिकाको प्रशासनिक केन्द्रतर्फको पहुँच सहज बनेको छ भने आसपासका बस्तीका नागरिकलाई दैनिक कामकाजका लागि यात्रा गर्न समेत सुविधा पुगेको छ ।

स्थानीयवासीहरूले पुल निर्माणले वर्षायाममा हुने जोखिमपूर्ण यात्रा अन्त्य भएको बताएका छन्। यसअघि वर्षाको समयमा खोलामा पानी बढ्दा आवतजावतमा कठिनाइ हुने गरेको थियो । अहिले भने सुरक्षित र सहज रूपमा यात्रा गर्न सकिने अवस्था बनेको उनीहरूको भनाइ छ ।

स्थानीयको सहयोग र गाउँपालिकाको लगानीबाट सम्पन्न भएको यो पूर्वाधारले झडेवा क्षेत्रको समग्र विकासमा टेवा पुग्नुका साथै भविष्यमा व्यापार, सेवा प्रवाह तथा प्रशासनिक पहुँच विस्तारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

advertisement_1676553908.gif