राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ बैशाख, २०८२
२१ बैशाख २०८२ पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाभित्रका किसानले वार्षिक ६० लाख रुपियाँको काफल बिक्री गर्दै आएका छन् । माथागढीको वडा नं. ४ र ३ का स्थानीय बासिन्दाले हरेक वर्ष ६० लाख बढीको काफल बिक्री गर्दै आएका हुन् ।
वडा नं. ४ को देवगीर, डन्डेनी, देउराली, मौलाथर, मकले क्षेत्रका किसानले ४० लाख बढीको काफल बिक्री गरेका छन् । यो वर्षको चैतको दोस्रो सातादेखि नै काफल बिक्री गर्दै आएको देवगीरका स्थानीय व्यापारी गीता न्यौपानेले बताउनुभयो । आफूहरूले विगत पाँच वर्षदेखि स्थानीय किसानले ल्याउने काफल सङ्कलन गरेर तानसेन र बुटवलमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
किसानले बारीको कान्लामा रहेका काफलका बोटबाट दाना टिपेर स्थानीय व्यापारीलाई बिक्री गर्ने गरेका छन् । गत वर्ष आफूले मात्र ४० लाख बढीको काफल बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो । काफल बिक्री गरेर यहाँका किसानले घरखर्च चलाउँदै आएका छन् ।
यो वर्ष असिना पानी नआए बैशाखसम्ममा ४० लाख बढीको काफल खरिद गर्ने व्यापारीको भनाई छ । किसानले प्रतिमाना एक सय रुपियाँमा काफल बिक्री गर्ने गरेका छन् । बिक्रीका लागि बजारसम्म जाने किसानले भने प्रतिमाना १५० देखि दुई सय रुपियाँसम्म नगद पाएका माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो ।
गाउँपालिकाले काफल पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहनका लागि सङ्कलन गर्न व्यापारीसँग सहजीकरण गर्ने गरेको छ । यस्तै काफल सङ्कलन गर्न सहज होस् भनेर किसानलाई निशुल्क क्यारेट वितरण गरेको प्रवक्ता दर्लामीले जानकारी दिनुभयो । यस्तै माथागढीको वडा नं. ३ स्थित सिकारकोट, भैसकट्टा, ओलेसलगायतका क्षेत्रबाट काफल बिक्री गर्दै आएका छन् । काफल स्वास्थ्यका लागि अत्यन्तै फलदायी फलफुल मानिन्छ ।