राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १६ असार, २०८०
नेपालगन्ज । बाँकेका स्थानीय तहले लायन्स क्लब इन्टरनेशनलसंग सहकार्य गरेर सेवाका कामहरु गर्ने प्रतिबद्धता जनाएका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले गभर्नर प्रेसिडेन्ट मीट प्रोग्राम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुबीचको अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले लायन्ससँग सहकार्य गरेर सेवाका काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य र उप–प्रमुख संगीता सुवेदीले सेवाका काममा सहकार्यका लागि लायन्ससँग आग्रह गरेका थिए । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले कोहलपुरको राम माध्यमिक विद्यालय हवल्दारपुरमा क्यान्टिन निर्माण गर्ने तयारी गरेको छ । कोहलपुरमा ब्लड बैंक स्थापना गर्नका लागि पनि लायन्सले सहकार्य गर्ने तयारी गरेको छ । ब्लड बैंकको लागि कोहलपुर नगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको राँझामा मधुमेह केन्द्र स्थापना गर्न उपमहानगरपालिकाले ६ कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौैडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि लायन्ससँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
लायन्स नेतृत्वको एक वर्षे कार्यकाल सुरु ।
लायन्स क्लब इन्टरनेशनलका नवनिर्वाचित गभर्नर र क्लब नेतृत्वको एक वर्षे कार्यकाल शनिबारबाट सुरु भएको छ । एक महिनाअघिदेखि निर्वाचित भए पनि अंग्रेजी मिति जुलाइ १ देखि मात्र सन् २०२३÷०२४ को औपचारिक कार्यकाल सुरु हुने लायन्समा प्रचलन रहेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनका निवर्तमान गभर्नर सीबी चन्दले शनिबार नेपालगन्जमा एक भव्य समारोहबीच नवानिर्वाचित गभर्नर मुकुट ढकाललाई पद हस्तान्तरण गरेका थिए । गभर्नर ढकालले शनिबार नै नेपालगन्जको कारकाँदोस्थित जिल्ला सचिवालयमा पद बहाली पनि गरेका थिए । शनिवार नै फस्ट भिडिजि लायन बिनोद कुमार श्रेष्ठ, सेकेण्ड भिडिजी लायन ज्ञानेन्द्र श्रेष्ठ, क्याबिनेट सेक्रेटेरी लायन उमा थापा र क्याबिनेट टे«जरर तेज प्रसाद अधिकारीले पनि पद बहाली गर्नु भएको थियो ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनमा आबद्ध काठमाडौंलगायत पश्चिम नेपालका ९० बढी क्लब अध्यक्षहरुलाई सम्बोधन गर्दै गभर्नर ढकालले आगामी एक वर्षे कार्यकालमा गर्नुपर्ने कार्ययोजना सुनाएका थिए ।
योग र ध्यानमा लायन्सकर्मी
पश्चिम नेपालका झन्डै १०० लायन्सकर्मीहरुले शनिबार नेपालगन्जमा योग र ध्यान गरेका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ एनले नेपालगन्जमा आयोजना गरेको गभर्नर प्रेसिडेन्ट मीट प्रोग्रामको दोस्रो दिन बिहान योग र ध्यान गरिएको हो ।
द आर्ट अफ लिभिङका योग प्रशिक्षक काव्य लम्सालले योग र ध्यानबारे प्रशिक्षण दिएका थिए । योग प्रशिक्षक लम्सालले सहभागीहरुलाई सुखी र खुसी हुन सधैं वर्तमान कालमा नै जिउन सक्नुपर्ने बताएका थिए । उनले जुन काम गर्दा पनि शत्प्रतिशत दिएर काम गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा रमण भट्टराई नेपालीले सकारात्मक सोच विषयमा प्रशिक्षण दिँदै सहभागीहरुलाई उत्प्रेरणा जगाएका थिए ।