राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १६ असार, २०८०
नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा इन्टर्नसीप गरिरहेका डाक्टरहरु आन्दोलित भएका छन् । कलेजबाट भरखरै एम.बि.बि.एस. उत्तीर्ण गरी इन्टर्नसीप गरिरहेका डाक्टरहरुले कलेजले अनावश्यक फिस असुल गरेको भन्दै कलेजका प्रवन्ध निर्देशकको कार्यालय अगाडी धर्ना बसीरहेका हुन् ।
काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालगन्ज मेडिकल कलेज, मणिपाल मेडिकल कलेज पोखरा र लुम्बिनी मेडिकल कलेज, पाल्पाका डाक्टरहरुले एकसाथ ६ वर्ष अघि असुल गरिएको नाजायज फिस फिर्ता गर्नु पर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।
एम.बि.बि.एस. उत्तीर्ण गरी इन्टर्नसीप गरिरहेका ४१ जना सहित करीब एक सय जना डाक्टरहरु बुधवारदेखि कलेजका प्रवन्ध निर्देशकको कार्यालय अगाडी धर्ना बसीरहेका छन् । उनीहरु विहान विद्युतीय यन्त्रमा हाँजिरी गरेर ड्यूटीमा नगई १० बजेदेखि ११.३० बजेसम्म कलेजका प्रवन्ध निर्देशकको कार्यालय अगाडी धर्ना बसीरहेका छन् ।
आन्दोलनमा सहभागी एक जना महिला चिकित्सकका अनुसार कलेजले विद्यार्थीहरुसंग भर्ना गर्ने समयमा सन् २०१७ मा एम.बि.बि.एस. कोर्षक साढे चार वर्षको लागि कुल फिस ४ ७ लाख ९० हजार मध्ये भर्ना गर्ने समयमा २९ लाख ७३ हजार ३९४ रुपैयाँ अग्रीम भुक्तानी लिएको थियो ।
ती चिकित्सकका अनुसार ६ वर्ष अघि डिपोजिट गरिएको इन्टर्नसीप फिस रु. १ लाख ९२ हजार, काठमाडौं विश्वविद्यालयको सम्बन्धन शुल्क १ लाख ६ हजार ४४४ रुपैयाँ, काठमाडौं विश्वविद्यालयको परीक्षा शुल्क पहिलो वर्षको रु ९ हजार, काठमाडौं विश्वविद्यालयमा दर्ता शुल्क रु. १० हजार र नेपाल मेडिकल कायउन्सिल शुल्क रु.३ हजार समेत जम्मा रु. ३ लाख २० हजार ४४४ रुपैयाँ असुल गरिएको थियो ।
नाजायज तरिकाबाट असुल गरिएको उक्त रकम फिर्ता नगरेसम्म धर्ना जारी रहने बताइएको छ । नाजायज तरिकाबाट असुल गरिएको भन्ने थाहा हुँदाहुँदै भर्ना नपाउने डरले डिपोजिट गरिएको आन्दोलनरत चिकित्सकहरु बताउँछन् ।स्मरणीय छ, नेपालगन्ज मेडिकल कलेजमा यसअघि पनि बेला बेलामा चिकित्सक र कर्मचारीहरुबाट आन्दोलन हुने गरेको छ ।