राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २५ मंसिर, २०८०
नेपालगन्ज÷ मानव सेवा आश्रम नेपालगन्ज शाखाले मानवमा असल चरित्र र असल संस्कारका लागि ‘आमा सेमिनार गर्ने तयारी गरेको छ । मानवता प्रवद्र्धन कार्यक्रम अन्तरगत यही मंसिर २७ गते एक दिने सेमिनार गर्न लागेको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
मानव सेवा आश्रम नेपालगन्ज शाखामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्रीय महासचिव सुशीला केसी ‘रुपाले बुधवार दिउँसो ३ बजेदेखि बेलुकी ६ बजेसम्म स्थानीय क्यु.एफ.एक्स. सिनेमा हलमा आमा सेमिनार आयोजना गरिएको बताउनु भयो । ‘कतिपय बुवाआमाहरु सडक पेटीमा आउनु भएको छ, कतिपय घरभित्र खुम्चिएर बस्नु भएको छ, सुन्दर र सभ्य समाज निर्माण गर्नका लागि आमा सेमिनारले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, यसले सकारात्मक प्रभाव पारेको महसुस हामीले गरेका छौं,’ उहाँले भन्नुभयो ।
मानवमा असल चरित्र र असल संस्कार बसोस् भन्नका लागि हामीले कार्यक्रम गरेका छौं, यो कार्यक्रमको धेरै ठाउँबाट माग आइरहेको छ ।’ मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व वोध गराई, प्रेम, सद्भाव, करुणालाई जन–जनमा, मन–मनमा पु¥याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित सम्पूर्ण जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी गराउने जनाएको छ ।
मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विन सापकोटाले मान्छेमा आमा बुवाप्रति प्रेम हराउँदै गइरहेको अवस्थामा आमा सेमिनार गर्न लागिएको बताउनु भयो । ‘छोरा छोरीहरु जागिर र पैसालाई खुसी ठान्ने प्रवृत्तिका कारण आमा बुवाहरु घरमा एक्लै हुने र कमजोर हुँदै जाने अवस्था छ, ‘जन–जननमा मानवता प्रवद्र्धन गर्नका लागि यो आमा सेमिनार गर्न गइरहेका छौं उहाँले भन्नुभयो ।’
उक्त कार्यक्रममा आमा समूह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक, शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी समेतलाई समेटेर ३ सय जनाले सहभागिता हुनेछन् । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा हुन लागेको सेमिनार निःशुल्क हुने बताइएको छ । सहभागीले आश्रमका लागि वा अन्य स्थानमा यस्तै कार्यक्रम सञ्चालन गर्नका लागि स्वेच्छाले दान गर्न सक्नेछन् ।
आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यस वर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जना आश्रित छन् । त्यसमध्ये १२ जना महिला र ३ जना बालबालिका समेत रहेका छन् ।
सम्मेलनको सहजीकरण गर्दै लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीले विगत १० वर्षदेखि सञ्चालनमा रहेको मानव सेवा आश्रमका नेपालगन्ज लगायत २३ स्थानमा सेवा केन्द्र रहेको र ती सेवा केन्द्रहरुमा १६०० जना परिवार विहीन महिला वालवालिका तथा वृद्ध वृद्धाहरु आश्रित रहेको जानकारी दिनु भयो ।
आगामी २०८२ सालसम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने उद्देश्य रहेको प्रदेश संयोजक अधिकारीले बताउनु भयो । सो अवसरमा अभिभावकका तर्फबाट विष्णु मैनाली, अधिवक्ता धु्रव बस्याल, पत्रकार शुक्र ऋषि चौलागाई, मधु पौडेलले बोल्नु भएको थियो ।