राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २२ माघ, २०७९
भैरहवा। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पहिलो पटक विमानस्थल आएका किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको उडान पुनः सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राखेका हुन् ।
उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रुटका लागि प्रधानमन्त्री तहबाट कूटनीतिक पहल गर्ने भन्दै प्रधानमन्त्री भारत भ्रमणमा गौतमबुद्ध विमानस्थलको रुटको एजेन्डा राख्ने बताए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिंदै मन्त्री किराँतीले गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयर लायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताए । उनले अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने बिषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताए ।
उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्ध विमानस्थल सफा राख्न समेत आग्रह गरे । उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने संभावना रहेको बताए ।
मन्त्री भएपछि पहिलो पटक विमानस्थल आएका मन्त्री किराँती समक्ष विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय सरकार र प्रदेश सरकारसंग पनि छलफल गरिएको बताए । मन्त्री किराँतीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए ।