राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २५ पुष, २०८०
बाँके, नेपालगन्ज, पवन जायसवाल। नेपाल आयल निगम लिमिटेडले आफनो ५४औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजनामा १ सय ५१ जनाले रक्तदान गरेका छन् ।
नेपाल आयल निगम लिमिटेड कार्यालय टेकुको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता,“रक्तदाता सम्राट,“राष्ट्रिय रक्त नायक” रगत महानायक लगायत अन्य बिभिन्न बिभूषणबाट बिभूषित हुनु भएका स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको उपस्थितिमा नेपाल आयल निगम लिमिटेडका नायब कार्यकारी निर्देशक ई. बीरेन्द्र गोईतले पानसमा दीप प्रज्वलन गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नेपाल आयल निगम लिमिटेडले विगत एक दशक भन्दा अगाडी देखि आफनो प्रत्येक वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आईको छ । ५४औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा १ सय ५१ जना रक्तदाताहरूले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक बिकास बखतीले जानकारी गराउनु भएको छ ।
सो रक्तदान कार्यक्रममा बिशेष अतिथिको रूपमा आमन्त्रित हुनुभएका १ सय ७६औं पटक रक्तदान गरिसक्नु भएका प्रेमसागर कर्माचार्यले निगमद्वारा आगामी दिनमा कम्तीमा वर्षको दुई पटक रक्तदान कार्यक्रम आयोजना गर्नका लागी सुझाव दिदैं स्वयंसेवी रक्तदाताहरूलाई प्रमाण–पत्र र मायाको चिनो पानस उपहार प्रदान गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा प्राविधिक सेवा प्रदान गर्ने केन्द्रीय रक्त संचार सेवालाई निगमको तर्फबाट प्रशंसा–पत्र प्रदान गरिएको थियो भने नेपाल आयल निगम लिमिटेडलाई केन्द्रीय रक्त संचार सेवाले रक्तदान कार्यक्रम आयेजना गरी सफलताका साथ सम्पन्न गरेकोमा प्रशंसा–पत्र प्रदान गरेको थियो ।
गत बर्ष ५३ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १ सय ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।