राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ९ जेष्ठ, २०८०
कोहलपुर, बाँके । केही समययता सार्वजनिक सरोकार तथा सर्वसाधारण नागरिकका समस्याहरुका विषयमा चासो राख्दै र आवाज उठाउन सक्रियता देखाउँदै आएको स्थानीय सामाजिक सरोकार मंञ्चले कोहलपुरले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकहरुसंग मेडिकल कलेजले दिने सेवा सुविधा र स्थानीयले भोग्दै आएका समस्याका विषयमा छलफल गरेको छ ।
सोमवार मेडिकल कलेज कोहलपुरमा भएको छलफल कार्यक्रममा सामाजिक सरोकार मंञ्च कोहलपुरका अध्यक्ष नागरिक समाजका अगुवा राजेन्द्र कुमार श्रेष्ठले कोहलपुर मेडिकल कलेजले दिने सेवा सुविधामा सुधार गर्नुपर्ने तथा अन्य जिल्लाबाट स्वास्थ्य उपचार गर्न आउने विरामीहरुलाई सर्वसुलभ तरिकाले छिटो र छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेमा जोड दिएका थिए । अध्यक्ष श्रेष्ठले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर यस क्षेत्रको गौरवको संस्था भएको भन्दै यसले कोहलपुरको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कोहलपुर मेडिकल कलेज र पछिल्लो समयमा विभिन्न अस्पतालहरु समेत खुल्दै गएकोले कोहलपुरमा होटल तथा व्यापार समेत राम्ररी फष्टाएको बताए ।
मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा. रेशम वहादुर रानाले छलफलका क्रममा मेडिकल कलेजमा देखिएका केही समस्याहरु अबदेखि हुन नदिन प्रतिवद्धता जनाएका थिए । आफुहरुले आफु आएपछि स्थानीय जनताको उपचारलाई ध्यानमा राखेर बाँके जिल्लाका दुई स्थानीय निकायहरुसंग सहकार्य गरेर प्रत्येक वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराएका थिए ।
डा. रानाले मेडिकल कलेज भनेको बाँकेबासीहरुको सम्पत्ति भएकोले मेडिकल कलेजको अबको प्राथमिकता भनेको स्थानीयहरुले नै बढी भन्दा बढी सेवा सुविधा दिन लागिपर्ने वातावरण सृजना गर्न आफु र आफ्नो टिम लागीपरेको बताएका थिए । आफुहरुले नेपाल सरकारले गरेका सबै निर्णय पालना गरेर सेवा प्रवाह गर्दै आएको बताए । साथै कोहलपुर मेडिकल कलेजमा रहेको शुल्क सहितको पार्किङ सेवा केहि दिन भित्र नै बन्द गर्ने समेत डा. रानाले बताएका थिए ।
छलफलमा सहभागी सामाजिक सरोकार मंञ्च कोहलपुरका तर्फबाट नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशका सचिव चिन्तामणी उपाध्याय, स्थानीय नागरिक समाजका अगुवाहरु शेषकान्त शर्मा, ज्ञानेन्द्र खनाल, सुरेश कुमार चौधरी, प्रभात कुमार श्रेष्ठ, दिपक भण्डारी, पत्रकार चेतकान्त भट्टराई, गौरी कान्त आचार्य, जगतजंग बुढाथोकी, मन्जु सत्याल लगायतले मेडिकल कलेजबाट विभिन्न समस्याहरु भेग्दै आएको बताएका थिए ।
कार्यक्रममा मेडिकल कलेजको तर्फबाट उप निर्देशक प्रा. डा. दिनेश कुमार श्रेष्ठ, निमित्त प्राचार्य, प्रा. ड ढुण्डी राज पौडेल, मेट्रोन ललिता शर्मा, प्रशासकिय अधिकृत संजय कुमार पन्त, सहायक अधिकृत कुस्माखर बस्याल लगायत सहभागी थिए ।