आईतवार, २३ चैत्र, २०८१ 1:41:14 AM

नेपालगन्जमा किरिया पुत्री भवन पूरा हुँदै, राप्तीमा बैकुण्ठधाम निर्माणको लागि धार्मिक महोत्सव गरिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३२ श्रावण, २०८१

नेपालगन्जमा किरिया पुत्री भवन पूरा हुँदै, राप्तीमा बैकुण्ठधाम निर्माणको लागि धार्मिक महोत्सव गरिने

नेपालगन्ज। हिन्दू धर्मावलम्वीहरुका लागि जीवनको अन्तिम दाहसंस्कार पछि १३ दिनसम्म धार्मिक संस्कार अनुसार गरिने किरिया बस्नका लागि नेपालगन्ज वडा नं. ४ शिव पार्वती टोलमा सुविधा सम्पन्न “किरिया पुत्री भवन” निर्माण कार्यले पूर्णता पाउँदैछ । 

गत फागुन १७ गते शिलान्यास गरिएको सुविधा सम्पन्न उक्त किरिया पुत्री भवनको दोस्रो तल्ला शनिवार ढलान गरिएको छ । भवन निर्माण समितिका संयोजक वरिष्ठ समाजसेवी सेमराज शाक्यका अनुसार २ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको उक्त दुई तल्लाको भवनमा दुई परिवारका लागि सुविधा सम्पन्न कोठाहरु, हल लगायतका संरचनाहरु निर्माण भइरहेको छ । शिलान्यासको बेला रु. ६० लाख खर्चको अनुमान गरिएकोमा हाल करीब १ करोड २० लाखको लागतमा निर्माण थालिएको उक्त किरिया पुत्री भवनका लागि स्थानीय तथा नेपालगन्ज बाहिरका स्वयंसेवी दाताहरुको सहयोग रहेको जानकारी दिंदै संयोजक शाक्यले आगामी असोज महिनाको अन्तिमसम्म भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष रहेको बताउनु भयो । किरिया बस्ने महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठाको व्यवस्था हुनेछ भने मलामी र प्रसाद ग्रहण गर्नेहरुका लागि बस्ने वयवस्था समेत गरिनेछ शाक्यले जानकारी दिनुभयो ।

शिलान्यासको अवसरमा भवन निर्माणका लागि संकल्पकर्ता समाजसेवी माधवी शाहले रु.१० लाख, सुश्री अनिता साहाले रु.५ लाख, काठमाडौं निवासी हिरामणि घिमीरे÷सदिक्षा रिजालले रु.५ लाख, काठमाडौं निवासी अर्का प्रेरक डा. सावित्री कक्षपतिले रु.१ लाख ११ हजार, नेपालगन्ज उपमहानगरपालिकाले रु.११ लाख र सयौं सहयोगी दाताहरुले ११ हजार भन्दा माथि सहयोग गर्ने घोषणा गरेको संयोजक शाक्यले बताउनु भयो । संयोजक शाक्यका अनुसार किरिया पुत्री भवन निर्माणका लागि दाताहरुले कबोल गरे अनुसार हालसम्म रु.५० लाख संकलन भइसकेको छ । भवनको तल्लो तल्ला प्लाष्टर र फिनिसिङ गर्ने काम भएको छ ।राप्ती नदीको सिधनियाघाटमा बैकुण्ठधाम निर्माणको पहल, कार्तिकमा महायज्ञ गरिनेयसैवीच बाँके जिल्लामा हिन्दूहरुका लागि अर्को अतिआवश्यक पवित्र अभियान थालनी गरिएको छ । राप्ती नदीको सिधनियाघाटमा मृतकका आफन्त र मलामीहरुका लागि स्थानीय सामाजिक अभियन्ताहरुको अग्रसरतामा बैकुण्ठधाम बनाउने अभियान थालेका हुन् ।केही वर्ष अघि सिधनियाघाटमा गुल्मेली समाजको स्वामित्व भएको जमीनमा शाक्य समाजको अग्रसरतामा निर्माण गरिएको अन्तिम दाहसंस्कारमा शवदाह गर्ने टिला र विश्रामस्थल राप्ती नदीको धार बदलिएर प्रयोग विहीन अवस्थामा रहेकोले मृतकका आफन्त र मलामीमा जानेहरुले चर्को घाम र वर्षा याममा ठुलो सास्ती भोग्दै आएका छन् । 

सिधनियाघाटमा निर्माण गरिने बैकुण्ठधामको निर्माणका लागि वाचन शिरोमणी पण्डित दिनबन्धु पोखरेलको सहभागितामा नेपालगन्जमा “बैकुण्ठधाम आध्यात्मिक महोत्सव” आयोजना गरिने जानकारी दिइएको छ । बाँकेको डुडुवा गाउँपालिका–५, कम्दी स्थित सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि आगामी कात्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगन्ज स्थित रामलिा मैदानमा उक्त आध्यात्मिक महोत्सव हुने भएको छ । बैकुण्ठधाम धार्मिक महोत्सव नाम दिइएको उक्त महायज्ञको लागि डा. सुरेश कुमार कनौडियाको अध्यक्षतामा ३ हजार १ जना सदस्य रहेको मूल आयोजक समिति गठन गरिएको छ । अध्यक्ष डा. कनौडियाद्वारा विहीवार जारी विज्ञप्तिका अनुसार समितिमा विभिन्न तह र तप्काका व्यक्ति, धार्मिक तथा गैर धार्मिक संघ संस्था, राजनीतिक दल तथा स्थानीय तहहरुको समेत प्रतिनिधित्व गराइएको छ । 

“गाउँ गाउँबाट उठौं, बस्ती बस्तीबाट जुटौं, यो महान अभियानमा कोही कतैबाट नछुटौं” नाराका साथ शुरु गरिने “बैकुण्ठधाम आध्यात्मिक महोत्सव” सफल तुल्याउन वित्रप्ति मार्फत आव्हान गरिएकोछ । बैकुण्ठधाम सिधनीयाघाट व्यवस्थापन समितिका कोषाध्यक्ष समाजसेवी कृष्ण प्रसाद श्रेष्ठका अनुसार बैकुण्ठधाम निर्माणका लागि समितिले सिधनीयाघाटमा १२ कठ्ठा जमीन खरीदका लागि पेस्की दिएको र थप १९ कठ्ठा जग्गा खरीद गर्ने योजना छ । यसैवीच यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त बैकुण्ठधाममा ब्रम्हनाल, किरियापुत्री घर, मन्दिर, पार्क, धारा, प्रतिक्षालय, काठ गोदाम, पूजा सामाग्री पसल, सार्वजनिक शौचालय बनाउने योजना अघि सारिएको छ । वाचन शिरोमणी पण्डित पोखरेलले व्यवस्थित तरिकाले महायज्ञ गर्न सकेमा २० करोड रकम संकलन हुने उद्घोष गर्नुभयो । महायज्ञमा प्रवचनसँगै शालिकरामको दर्शन, ब्रतवन्ध, विवाह, चौरासीपूजा, रुद्री, ग्रहशान्ति गरिने छ । 

मूल आयोजक समितिको उपाध्यक्ष भोला महत, सचिव विकास आचार्य, सहसचिव उमा थापामगर चन्द, कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सदस्यहरुमा डा. बद्री चापागाई, डाक्टर किर्तिपाल सुवेदी, पर्यटन व्यवसायी श्रीराम सिग्देल लगायत रहेका छन् । वाचन शिरोमणी पण्डित दिनवन्धु पोखरेल लगायतको टिमले बैकुण्ठधाम निर्माण स्थल राप्ती नदीको सिधनियाघाटको निरीक्षण गरेको थियो । 

नेपालगन्जमा किरिया पुत्री भवन पूरा हुँदै, राप्तीमा बैकुण्ठधाम निर्माणको लागि धार्मिक महोत्सव गरिने

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif