राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ८ माघ, २०८०
नेपालगञ्ज(बाँके) पवन जायसवाल ।
बाँकेको नेपालगन्जमा राष्ट्रिय समाचार समिति (रासस)ले माघ ७ गते देखि औपचारिक रुपमा अवधी भाषामा समाचार सेवा सुरु गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आयोजित सेवा शुभारम्भ समारोहमा कम्प्युटरको माउस क्लिक गरेर अवधी समाचार सेवाको शुभारम्भ गर्नुभएको थियो ।
सो अवसरमा उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले अवधी भाषाका समाचार सेवामा स्थानीय सरकारले सहयोग गर्ने बताउँदै आफ्ना भाषा, कला संस्कृतिको संरक्षण गर्नका लागि यो प्रयास फलदायी हुनेछ विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले अवधी भाषाको संरक्षण र विकासका लागि स्थानीय सरकारले पहल गरेको बताउँदै अवधी भाषाभाषीको संरक्षणले नेपालगञ्जको परिचय हुनेृ बताउनुभएको थियो ।
बिचार व्यक्त गर्दै नगर प्रमुख प्रशान्त विष्टले “जसले नेपाली भाषा बुझ्नु हँुदैन उहाँहरुले आफ्ना मातृभाषाबाट समेत लाभ लिन सक्नुहुनेछ ।” अवधी भाषा र साहित्यको जगेर्ना गर्न स्थानीय सरकार समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मातृभाषाको विषय समावेशी र सङ्घीयता कार्यान्वयनसँग जोडिएका हुँदा अवधी भाषाका समाचार स्थानीय सञ्चारमाध्यमले प्रयोग नगरे त्यसको अर्थ नहुने बताउनुभएको थियो । उहाँले मातृभाषाको समाचार सेवासँग समाजलाई जोड्नुपर्ने तर्क गर्दै सञ्चारमाध्यमले बहुलवादलाई ध्यानमा नराखेको तर राससले त्यसलाई ध्यानमा राखेर काम गर्न खोजेको बताउनुभएको थियो ।
कार्यकारी अध्यक्ष झाले पहिलोपटक अवधी समाचार सेवा सुरुआत गर्न नेपालगन्ज उपमहानगरले देखाएको अग्रसरता प्रति धन्यवाद व्यक्त गर्दै सम्बन्धित भाषामा विषवस्तु पाउनका लागि समाचार सेवा सहयोगी हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले आगामी अगामी चैत महिना भित्र भोजपुरी भाषामा पनि समाचार सेवा सञ्चालनको तयारी भएको जानकारी गराउनुभएको थियो ।
राससका महाप्रबन्धक सिद्धराज राईले अवधी भाषाको समाचार सेवाबाट भाषामा विविधीकरण भएको उल्लेख गर्नुभएको थियो । उहाँले सबै भाषाको साझा संस्थाका रुपमा राससलाई स्थापित गर्न खोजिएको भन्दै उपमहानगरपालिकाले भाषिक समुदायको साँस्कृतिक महत्वलाई बुझेको बताउनुभएको थियो ।
साहित्यकार सनत रेग्मीले अवधी भाषाको विकासका लागि यस क्षेत्रका अगुवा जागरुक हुनुपर्नेमा जोड दिँदै अवध क्षेत्रको संस्कार र संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो ।
अवधी साहित्यकार विष्णुलाल कुमालले बिचार व्यक्त दाउपेचका कारण अवधी साहित्य पछिपरेको उल्लेख गर्नुभएको थियो । उक्त अवसरमा सेवाग्राहीका तर्फबाट दैनिक नेपालगञ्जका सम्पादक झलक गैरे, रासस नेपालगञ्ज शाखाका कार्यालय प्रमुख युवराज पाण्डे, अवधी समाचारका अनुवादक राकेश मिश्र लगायतले अवधी समाचार सेवा सुरुआतबाट अवधी भाषी सञ्चार माध्यम लाभान्वित हुने बताएका थिए ।