राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, ८ आश्विन, २०८१
नवलपुर, असोज ८ । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । विनयी त्रिवेणी–१, स्थित विनयी खोला नजिक काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको थियो। बस पल्टिँदा बसका २३ जना यात्रु घाइते भएका छन्।
बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइतेको स्थानीय विनियी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए।