राष्ट्रिय सन्देश संबाददाता, आईतवार, ३० मंसिर, २०८१
पाल्पा, मंसिर ३० । आगामी पुस ९ गतेदेखि १८ गतेसम्म पाल्पा महोत्सव हुने भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका वडा नं- १, चिलाङ्दीमा पाल्पा महोत्सव हुन लागेको हो ।
महोत्सवका लागि तयारी भइरहेको आयोजक कुटुम्ब मिडिया प्रालिका सञ्चालक एवं महोत्सव आयोजक समितिका संयोजक नारायण न्यौपानेले जानकारी दिनुभयो ।बगनासकालीमा पहिलो पटक यस्तो खालको महोत्सव हुन लागेको उहाँले जानकारी दिनुभयो । महोत्सवले स्थानीय कला, संस्कृति, भाषा, कलाको विषयमा जागृत गर्न सहयोग गर्ने उहाँले बताउनुभयो । महोत्सवमा राष्ट्रिय कलाकारहरूको प्रस्तुती, कुमाल, बोटे, मगर समुदायका नाच तथा गीत प्रस्तुत गरिनेछ ।
यस्तै बगनासे साँचो, बगनासका फोटो प्रदर्शनी, दुना टपरी बनाउने मेसिनको प्रदर्शन र दुनाटपरी उत्पादनको काम महोत्सवमा गरिने उहाँले जानकारी दिनुभयो । महोत्सवमा तीन करोडको कारोबार हुने र डेढ लाख दर्शकले अवलोकन गर्ने आयोजकले बताएको छ । महोत्सवमा १५० बढी स्टल रहनेछन् । यस्तै महोत्सवमा ८० रुपियाँ प्रदेश टिकट रहेको छ भने विद्यार्थी र जेष्ठ नागरिकलाई सहुलियतमा प्रवेश गर्न दिइने आयोजक समितिका सदस्य यज्ञमूर्ति तिमिल्सिनाले जानकारी दिनुभयो ।
आयाेजकले महाेत्सवका लागि बगनासकालीका सबै वडामा पुगेर स्थानीय जनप्रतिनिधि, सर्वसाधारणसँग छलफल गरेकाे जनाएकाे छ ।