आईतवार, १० कार्तिक, २०८२

पाल्‍पाको तानसेनमा रहेको ऐतिहासिक मुलढोकाको मर्मत सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २८ चैत्र, २०८०

पाल्‍पाको तानसेनमा रहेको ऐतिहासिक मुलढोकाको मर्मत सुरु

अमृत अधिकारी, पाल्पा। नेपालकै पुरानो ढोकाको रुपमा लिइने पाल्‍पाको तानसेनस्थित मूल ढोकाको मर्मत सुधार कार्य सुरु भएको छ । लामो समयसम्म मर्मतसम्भार हुन नसक्दा जीर्ण बनेको मूल ढोकालाई पुरानै स्वरुपमा मर्मतसुधार गर्न सुरु गरिएको हो । 

पाल्‍पा जिल्‍ला तानसेन सदरमुकाम स्थित सित्तलपाटीमा रहेको मूल ढोका १७० वर्ष पुरानो हो । तत्कालित प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद«ीनरसिंह कुवँरले दरबार परिसरको सुरक्षाका लागि मूल ढोका बनाउन लगाएका थिए । वि.स. १९११ सालमा दरबारको सुरक्षाका लागि पाल्पा दरबार परिसर वरिपरि डेढ मिटर चौडा कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका बनाइएको थियो । 

त्यसबेलामा बनेको मूल ढोका जीर्ण भएपछि पुरातत्व विभागले मर्मतसुधारको काम थालेको तानसेन नगरपालिकाले. जनाएको छ । उक्त ढोकाबाट सहनै अन्य मानिस भित्र छिर्न तथा कुनै सामान्य आक्रणबाट भित्र छिर्न नसक्ने गरि बनाइएको थियो । १७० वर्षपहिले नेपालको आन्तरिक सुरक्षा तथा बाह्य सुरक्षालाई ध्यान दिँदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको थियो । मूल ढोकाको उचाइ पाँच मिटर बढी र चौडाइ तीन मिटर रहेको छ । ढोका बनाउन ठूला काठ र ठूला ढुङ्गाको प्रयोग गरिएको छ । 

आगामी २०८१ असार मसान्तभित्र काम सक्ने गरी मूल ढोकाको मर्मतसुधार सुरु भएको तानसेनका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । मूल ढोका नेपालकै ठूलो ढोका मानिन्छ । यसको मर्मतसुधारका लागि ८१ लाख ९५ हजार १२९ रुपियाँमा ठेक्का लगाइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

मूल ढोका बनेपछि दरबार परिसर आन्तरिक र बाह्य पर्यटकका लागि थप आकर्षक बन्ने अपेक्षा गरिएको छ । अहिले मूल ढोका जीर्ण भएका कारण नियमित ढोका लगाउन समेत अप्ठेरो छ । जीर्ण बनेर मूल ढोकालाई नियमित खोल्न र बन्द गर्न समेत अप्ठेरो रहेको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताउनुभयो । मूल ढोकाको मर्मतसुधार गरेपछि नियमित ढोका खोल्न र बन्द गर्न मिल्ने उहाँले बताउनुभयो ।

पाल्पा दरबार परिसरको ऐतिहासिक नक्सा र संरचना बिग्रन नदिने गरी हाल सो क्षेत्रमा नगरपालिका, लुम्बिनी प्रदेश सरकार तथा पुरातत्व विभागको लगानीमा पर्खाल लगाउने कार्य भएरहेको छ । तानसेन दरबार परिसरकाे ढाेका र एेतिहासिक सम्पदालाइ इतिहास नमेटिने गरेर संरक्षण गर्नुपर्ने स्थानीय समाजसेवी राजेन्द्र गाेपाल सिंहले बताउनुभयाे । उहाँका अनुसार एेतिहासिक सम्पदा र कलाकृतिलाइ संरक्षणमा सरकारकाे ध्यान जानु आवश्यक रहेकाे छ । 

पाल्पा दरबार परिसरलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम भइरहेको नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । त्यसका लागि नगरपालिकाले दरबार परिसरभित्रका कार्यालय तथा अन्य संरचना हटाउने र पुरानै स्वरुपमा दरबारलाई विकास गर्ने कार्य गरिरहेको उहाँले बताउनुभयो । 

advertisement_1676551537.gif