राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ४ असार, २०८२
५ असार २०८२, पाल्पा । निस्दी गाँउपालिका वडा नम्बर १ वाकामलाङ्ग खण्डको भोटाहामा अस्थाई प्रहरी चौकी स्थापना भएको छ । ८८८ औं अस्थायी प्रहरी चौकीको रुपमा बाकामलाङ प्रहरी चौकी स्थापना भएको हो ।
सो प्रहरी चौकी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीले शान्ति सुरक्षा कायम सँगै कालीगण्डकी करिडोर भएर हुन सक्ने चोरी निकासी एवम अवैध गतिविधि नियन्त्रण गर्न, सवारी दुर्घटना न्युनिकरण गर्न प्रहरी चौकी स्थापना गरिएको बताए । सुवेदीले प्रहरी चौकी समुदायको हितको लागि स्थापना गरिएको र यसले दुई जिल्लाको सिमा क्षेत्र भएर हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने स्पष्ट समेत पारे ।
भाडाको घरबाट सञ्चालित चौकीका लागि निस्दी गाउँपालिकाले आवश्यक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । गाउँपालिकाले एउटा मोटरसाइकल समेत उपलब्ध गराउने भएको छ । यहाँ स्थापना भएको प्रहरी चौकीसँगै पाल्पामा हाल १९ स्थायी प्रहरी चौकी र ६ अस्थायी प्रहरी चौकी सञ्चालनमा छन् ।
प्रहरी प्रधान कार्यालयले गत वैशाखमा स्वीकृत प्रदान गरेसँगै अस्थायी पोष्ट स्थापनाका लागि आवश्यक तयारी गरेर चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए ।
प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले लुम्बिनी प्रदेशको पाल्पा र गण्डकीको नवलपुरका सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणका लागि सहज हुने बताए ।