राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २७ असार, २०८१
पाल्पा, असार २६ । पाल्पाकाे तिनाउ गाउँपालिका-३ दोभानमा ट्रक र स्कुटी ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–४, डिङ्गानगरका २१ वर्षीय विवेक अधिकारी रहनुभएको छ भने साेही स्थानकी १७ वर्षीया रश्मी अधिकारी गम्भीर घाइते हुनुभएको छ । विवेक र रश्मी दाजु बहिनी रहेकाे प्रहरीले जनाएकाे छ ।
विवेक र रश्मी बुधबार बेलुकी सवा ६ बजेतिर बुटवलबाट लु ८६ प ६५१ नम्बरको स्कुटीमा पाल्पातर्फ जादै गर्दा साेही क्रममा बुटवलबाट पाल्पा आइरहेको लु २ ख ५३७३ नम्बरको ट्रकलाई उछिन्ने क्रममा ट्रकको ठक्करबाट अधिकारी गम्भीर घाइते हुनुभएको थियो ।
घाइते अधिकारीलाई उपचारका लागि लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको श्रेष्ठले बताउनुभयो ।