राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ मंसिर, २०८२
२०८२ मंसिर ८, पाल्पा । जिल्लामा ६ हजार ८८७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । गत असोज ११ गतेदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन भएको मतदाता नामावली सङ्कलन अभियानमा झण्डै सात हजार नयाँ मतदाताले नाम दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
मतदाता नामावली दर्तापछि अहिले दर्ता भएको मतदाताको विवरणलाई रुजु गर्ने, सच्याउने कार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । सच्याउने र रुजु गर्ने कार्य सकिएपछि निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या यकिन हुनेछ ।
निर्वाचन कार्यालयका पाल्पाका प्रमुख महेश शर्माका अनुसार राष्ट्रिय परिचयपत्रबाट मात्रै चार हजार ३२५ जनाको नाम दर्ता भएको छ । यस्तै जिल्लास्थित निर्वाचन कार्यालयमा एक हजार १७ पुरुष र ८१० जना महिला गरी एक हजार ८२७ जनाको नाम दर्ता भएको छ ।
अन्य जिल्लाबाट २५९ पुरुष र ३७६ महिला गरी ६३५ जनाले पाल्पामा ठाउँ सारीका लागि निवेदन दर्ता गराएका छन् ।