राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ भाद्र, २०८०
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनमा आबद्ध रहेर जिल्लामा क्रियाशील पत्रकार महिला, दोस्रो स्थानीय निर्वाचनबाट स्थानीय तहमा नेकपा एमालेका तर्फबाट निर्वाचित उपाध्यक्ष, महिला नेतृ तथा पार्टीका नेता तथा शुभेच्छुकहरुको सहभागितामा पहिलो पटक तीज मिलन कार्यक्रम गरिएको सचिव नारायण न्यौपानेले जानकारी दिनुभयो ।
सक्षिप्त शुभकामना कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले तीजको अवसरमा सम्पूर्ण नारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रेस चौतारी पाल्पाले समय अनुसार रचनात्मक कार्य गर्दै आएकोमा प्रशंसा समेत गर्नुभयो । अध्यक्ष घिमिरेले समाजमा रहेका विकृती र विसंगती हटाउन चौतारीकर्मी र महिलाहरुको सार्थक सहकार्य आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
जिल्लाम समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले तीज मिलन कार्यक्रमले आपसी भाइचारा स्थापित गर्ने बताउनुभयो । उहाँले समाज परिर्वतनका लागि सबै पक्षको सक्रियाता र सहयोग आवश्यक रहने बताउनुभयो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले एउटै पार्टी र संगठन भित्रका महिला दिदी बहिनीहरुलाई एकै ठाउँमा राखेर परिचयात्मक कार्यक्रम संगै दर खाने कार्यक्रम गरेकोमा चौतारी पाल्पालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले तीजको शुभकामना व्यक्त गर्दै असल अभ्यासका लागि सबै जनवर्गीय संगठन एक ठाउँमा उभिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निस्दी गाउँपालिका उपाध्यक्ष तीरणकुमारी श्रेष्ठ, पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भटराइ नेकपा एमाले तानसेन नगर कमिटी उपाध्यक्ष शशी श्रेष्ठ, अनेमसंघ जिल्ला अध्यक्ष गीता पाण्डे, अक्षयकोष दाता तुलबहादुर अधिकारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । यसका साथै उहाँहरुले हामी एउटै अभियानमा रहेपनि आपसमा सहकार्यको वातावरण नभएको बताउदै यस्ता मिलन कार्यक्रमले समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने बताउनुभयाे ।
कार्यक्रम सदस्यता प्रोत्साहन उपसमितिका जिम्मेवार सदस्य भूवन रायमाझीको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।