राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २० मंसिर, २०८२
२०८२ मंसिर १९, रुकुम पश्चिम । जिल्लाको आठबिसकोट बाँकेज्यूलामा जीप दुर्घटना भएको छ । सदरमुकाम मुसिकोटबाट राडीतर्फ आउँदै गरेको जीप आठबिसकोट–१४ बाँकेज्यूलामा दुर्घटना भएको हो ।
लु १ ज २०८२ नम्वरको जीप शुक्रबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–१ का ५१ वर्षीय हरिजंग मल्ल, वडा नम्बर १३ का ३४ वर्षीय प्रकाशजंग मल्ल, सोही ठाउँका १४ वर्षीय जितु मल्ल र २८ वर्षीय डिल बहादुर विक छन् ।
यस्तै, आठबिसकोट–८ का ३२ वर्षीय विष्णु केसी र १९ वर्षीया विमला केसी, वडा नम्बर ५ का ३२ वर्षीय अभिषेक केसी, वडा नम्बर १२ की १७ वर्षीया रीता परियार र वडा नम्बर १४ का ४८ वर्षीय भरतजंग मल्ल पनि घाइते भएका छन् ।
रुकुम पूर्वको भुमे गाउँपालिका–५ का २२ वर्षीय विजय विक, रुकुम पश्चिमकै बाफीकोट गाउँपालिका–८ का २६ वर्षीय जनक चन्द र सानीभेरीका ३३ वर्षीया बसन्ता शाह रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
घाइते परियारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि पुनले जानकारी दिए ।
अन्यको अवस्था सामान्य रहेको पुनले बताए ।