राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २५ चैत्र, २०८१
२६ चैत्र २०८१, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलियामा पिक अप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिक अप भ्यान पल्टिँदा गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घटनाको प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त भ्यान मोडमा पुगेपछि अनियन्त्रित भई पल्टिएको थियो। भ्यानमा सवार २४ जना यात्रु लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा दुर्घटना भएको उनले जानकारी दिए।
दुर्घटनापछि कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका–४ बिठुवा बस्ने सवारी चालक २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।