शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

सीमा पारी जानेको घुइँचो: एक घण्टामा २६ सय भारत गए।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ आश्विन, २०८०

सीमा पारी जानेको घुइँचो: एक घण्टामा २६ सय भारत गए।

नेपालगंज ।  नेपाल भारतको नेपालगन्ज जमुनाहा सिमानाबाट सिमाना पारी भारतीय बजार रुपइडिहा जानेको संख्या दिनहुँ बढदो अवस्थामा छ । नेपालीहरुको ठुलो पर्व वडा दशैं र तिहार नजिकींदै जाँदा यसरी भारतीय बजार जानेको संख्या अप्रत्याशित रुपमा बढ्दै गएको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले सोमवा् मध्यान्ह १२ बजेदेखि दिउँसो एक बजेसम्म भन्सार सहजीकरण तथा सचेतना कार्यक्रम अन्तरगत राखेको भारत जानेहरुको अभिलेख अनुसार एक घण्टाको अवधिमा एक हजार ५७२ पुरुष र एक हजार १२२ महिला गरी दुई हजार ६९४ जना भारत प्रवेश गरेका गरेका थिए । 
संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी ओलीका अनुसार दशैंको मुखमा भएकोले त्यो भन्दा धेरै संख्यामा भारतबाट नेपाल पनि आएका थिए । संघले भारतबाट आउने २७३ जनालाई ‘भारतीय सीमावर्ती बजारमा किनमेल सर्वेक्षण–२०८०’ प्रश्नावली भर्न लगाएको थियो । भारतबाट किनमेल गर्न आउने अधिकाँशले चिनी, चामल, पिठो, मैदा, सुटका कपडा, तरकारी, मसलाजन्य खाद्य वस्तु लगायतका दुई दर्जन भन्दा बढी सामान खरीद गरेको पाइएको थियो । एक जनाले कम्तीमा ३४० रुपैयाँको पाँच किलो चिनीदेखि पाँच हजार रुपैयाँ भन्दा बढीको सामान खरीद गरेको सर्वेक्षणका क्रममा जानकारी दिएका थिए । एउटै ब्यक्तिले ठूलो परिणाममा चिनी र चालम ओसारेको पाइएको थियो ।


संंघका प्रवक्ता डम्बरबहादुर चन्दले दिएको जानकारी अनुसार कार्यक्रम सञ्चालन गर्दै गर्दा सोमबार दिउँसो २ बजेसम्म भन्सार कर्मचारीले एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउने ३१४ जनालाई राजस्व तिर्न लगाएको थियो । जसबाट यो अवधिमा मात्र एक लाख ६४ हजार रुपैयाँको राजस्व संकलन भएको थियो । जुन अघिल्ला दिनमा हुने राजस्व संकलन भन्दा निकै धेरै हो । जबको अघिल्लो दिन अर्थात् असोज १४ गते दिनभर ५८६ जनाले राजस्व तिरेका थिए । जसबाट तीन लाख एक हजार ५६७ रुपैयाँको राजस्व संकलन भएको थियो । 
संघको उक्त कार्यक्रमको क्रममा जमुनाहा सीमा नाकादेखि भारतको रुपैडिया बजारसम्म नेपाली ग्राहकहरुको लर्को लागेको थियो । जसलाई नेपालगन्ज भन्सारमा संघले फिल्म देखाएको भनेर टिप्पणी गरेका थिए । १०० रुपैयाँ माथिको सामानको भन्सार तिर्नु पर्दा र नेपाल र भारतका सीमा नाकामा लामो समय चेकिङ्गको रमिताको सास्ती हुँदा कतिपयले अब भारतीय बजारमा किनमेल गर्न नजाने बताएका थिए ।


महानिर्देशकलाई ५ वुँदे ध्यानाकर्षण पत्र
सोही दिन जमुनाहा भन्सार नाकामा उद्योग वाणिज्य संघको बैठक बस्यो र  भन्सार सुधार्न विभागका महानिर्देशकलाई ५ वुँदे ध्यानाकर्षण पत्र पठाएको छ ।
भन्सारको नियम अनुसार १०० रुपैयाँ भन्दा माथिको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने लगायत भन्सार क्षेत्र सुधार्न नेपालगन्ज उद्योग वाणिज्य संघको बाँकेको जमुनाहा भन्सार नाकामै कार्यसमितिको आकस्मिक बैठकको निर्णय अनुसार उक्त ५ वुँदे ध्यानाकर्षण पत्र पठाएको प्रवक्ता डम्बरबहादुर चन्दले बताएका छन् ।
संघका अध्यक्ष टंकबहादुर धामीले जमुनाहा नाकामा देखिएका समस्याहरु तत्काल समाधान गर्न बैठकको निर्णयलाई नेपालगन्ज भन्सारका अधिकृत पदमराज पन्त मार्फत भन्सार विभागका महानिर्देशकलाई पाँच बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका थिए । अध्यक्ष धामीले भने– ‘भन्सार क्षेत्रको सुधारका लागि हामी यहाँ भौतिक पूर्वाधार निर्माणदेखि नीतिगत र कानुनी रुपमा सुधारका लागि प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर समस्या समाधानका लागि पहल गर्नेछौं ।’


कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले पनि भन्सार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गरेका थिए ।  
जमुनाहा भन्सार नाकामा संघले सोमवार आयोजना गरेको ‘भन्सारमा सहजीकरण तथा सचेतना कार्यक्रम’का क्रममा बाँकेका उद्योगी व्यवसायीले एक घण्टा भन्सार क्षेत्रको अवलोकन भ्रमण गदा देखिएका कमी कमजोरी सुधार्न संघले कार्य समितिको आकस्मिक बैठक डाकेको प्रवक्ता चन्दले जानकारी दिए ।


प्रवक्ता चन्दका अनुसार संघले पेश गरेको ध्यानाकर्षण पत्रमा सीमावर्ती रुपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जस्तै जमुनाहा नाकामा पनि भारत प्रवेश गर्दा र भारतबाट नेपाल आउँदा सबै यात्रीहरुलाई अनिवार्य रुपमा परिचय पत्रका चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने, भारतबाट किनमेल गरेर आएका यात्रीको सामान राम्ररी चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउनु पर्ने माग गरेको छ । त्यसैगरि जमुनाहा मूल नाकामा जस्तै सीमा नाकाकोे मुस्किलले एक किलोमिटरको दुरीमा आधा दर्जन भन्दा बढी तस्करी गर्ने नाकाहरु रहेको उल्लेख गर्दै ती सबै स्थानमा तत्काल ब्यारियल नै राखेर सशस्त्र प्रहरी बलको अस्थाई पोस्ट राख्नुपर्ने र सीसीटिभी जडान गरेर कडा निगरानी गर्नुपर्ने संघको माग छ । जमुनाहा नाकामा २०७५–०७६ सालदेखि यात्रु शाखामा राखेको स्क्यानर मेसिन बिग्रिएर थन्किएको अवस्थामा छ । सबै सामानको स्क्यान गरेर मात्र पठाउन स्क्यानर मेसिन राख्नुपर्ने पनि माग गरिएको छ । 
त्यसैगरी खुला सीमा नाकाका कारण अवैध आयात निर्यात भइरहेको भन्दै सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका साइगाउँ, भङ्घोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँया बघौडामा छोटी भन्सार पुनः सञ्चालन गर्न पनि सरकारसँग माग गरेको छ ।
संघको भन्सार सहजीकरण तथा सचेतना कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके, नेपालगन्ज भन्सार एजेन्ट संघ लगायत विभिन्न वस्तुगत संघसंस्थाको ठूलो सहभागिता रहेको थियो । 
 

सीमा पारी जानेको घुइँचो: एक घण्टामा २६ सय भारत गए।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg